
तुलसीपुर, १५ पुस। तुलसीपुर उपमहानगरपालिका-४ वायखोलाका जितबहादुर वादीको घरमा खरको छाना हटाएर जस्तापाता लगाइएको छ। तुलसीपुर-७ जितपुर निवासी समाजसेवी उपेन्द्र पौडेलको अगुवाइमा वादीको कच्ची घरमा जस्तापाता लगाइएको हो।
स्थानीय सरकारले “खरको छानामुक्त अभियान” सञ्चालन गरे पनि वर्षौंदेखि खरको छानामुनि दैनिकी बिताउँदै आएका जितबहादुर वादी र उनको परिवार वर्षायाममा घरभित्रै पानी चुहिने समस्याका कारण कष्टकर जीवन बिताउन बाध्य थिए।
यस्तो अवस्थामा समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा तुलसीपुर-७ नवलपुरका ट्रक चालक तथा सामाजिक अभियन्ता यज्ञबहादुर कुँवरले झन्डै २५ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गर्नुभएको थियो। जस्तापातासँगै घर निर्माणका लागि आवश्यक बाँस तथा काठपात भने समाजसेवी उपेन्द्र पौडेलले जुटाउनुभएको थियो।
वादी परिवारको लागि यो सहयोगले जीवनमा ठूलो राहत महसुस गराएको छ। जितबहादुर वादीले भावुक हुँदै भने, “हामी वर्षौंदेखि पानी चुहिने खरको छानामुनि बस्दै आएका थियौं। आज हामीलाई जस्ताको छाना राखिदिएर सुरक्षित जीवन दिनुभएको छ। यस्तो लाग्छ, दैवले आफैं हाम्रो घरमा सहयोगी पठाएका हुन्।”