२०८१ फाल्गुन ६ गते मङ्गलवार

जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम


सल्यान, १४ पुस । सल्यानको कपुरकोट गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम प्रदान गरिएको छ । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार जनप्रतिनिधि र कर्मचारीलाई शुक्रबार र शनिबार गरी दुई दिन क्षमता विकास तालिम प्रदान गरिएको हो ।

तालिममा जीवन जिउने कला, सकारात्मक सोच, उत्प्रेरणा, द्वन्द्व व्यवस्थापन कला, अधिकार क्षेत्रको समझ तथा सेवा प्रवाहको प्रभावकारिता वृद्धिका लागि विविध सत्र सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरतकुमार वलीले जानकारी दिनुभयो ।

तालिमको पहिलो दिन आर्ट अफ लिभिङ्ग का राष्ट्रिय अध्यक्ष एवं वरिष्ठ प्रशिक्षक राजेश खड्का र पतञ्जली योग सल्यानका अध्यक्ष प्रेम आचार्यले योग, ध्यान र प्राणायाम अभ्यास गराउनुभयो ।

यस्तै अन्तर्राष्ट्रिय वक्ता एवं आध्यात्मिक गुरु डा. चिन्तामणि नाथ योगीले नैतिकता, आध्यात्मिक चेतना, देशभक्ति र प्रेरणाको विषयमा प्रशिक्षण दिनुभयो ।

नेपाल सरकारका पूर्व सहसचिव सन्तबहादुर सुनुवारले स्थानीय तहमा द्वन्द्व उत्पन्न हुने कारण, यसको समाधानका उपाय, जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय र सृजनशील कार्यक्षमताबारे प्रशिक्षण प्रदान गर्नुभयो ।

तालिममा गाउँपालिकाका ७० जनाभन्दा बढी जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो । तालिमले सहभागीहरूको व्यक्तित्व विकाससँगै गाउँपालिकाबाट प्रदान गरिने सेवाहरूलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताउनुभयो ।

तालिमहरूले स्थानीय सरकारलाई अझ सशक्त बनाउँदै सेवा प्रवाहमा सुधार गर्न सहयोग पुर्‍याउने उपाध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ पुष १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस