
दाङ, १२ पुस । तुलसीपुर उपमहानगरपालिका बेला–बेलामा चर्चामा आउने गरेको छ । उपमहानजगरपालिका चर्चामा आउनुको कारण हो , प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीको कार्यशैली ।
प्रमुख प्रशासकिय अधिकृत डाँगीको कार्यशैलीका विरुद्ध कर्मचारीदेखि सेवाग्राहीको असन्तुष्टी बढ्दो छ । चिसो मौसम बढ्दै गएको अवस्थामा आज पनि तुलसीपुर उपमहानगरपालिका कार्यालयमा केहि समय गर्मागर्मी भयो ।
आज फेरि उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डाँगी विवादमा पर्नुभएको हो । प्रमुख प्रशासकिय अधिकृत डाँगी तुलसीपुर उपमहानगरपालिकामा आएको एक वर्ष पनि भएको छैन् । तर उहाँको कार्यशैली कर्मचारी र जनप्रतिनिधिलाई मात्र होइन धेरै सेवाग्राहीलाई पनि मन परेको छैन् ।
प्रमुख प्रशासकिय अधिकृत डाँगी आज आफ्नै कार्यशैलीका कारण केहि समय आफ्नै कार्यकक्षमा थुनिनुपर्यो । तुलसीपुर–७ निवासी सर्प उद्धारकर्ता प्रभात भण्डारीले कार्यकक्ष बाहिरबाट ताला लगाएपछि उहाँ केहि समय कार्यकक्षमा थुुनिनुभएको थियो ।
सेवाग्राही भण्डारीले ताला लगाएपछि उहाँ अर्को गोप्य ढोकाबाट बाहिर निस्केको प्रत्यक्षदर्शीले बताएका छन् । उहाँको कक्षमा लगाएको ताला भने प्रहरीले फोडेको छ । प्रमुख प्रशासकिय अधिकृतकै कार्यकक्षमा ताला लागेपछि आज दिउँसो केहि समय तुलसीपुर उपमहानगरपालिका तनावग्रस्त बन्यो ।
सबै कर्मचारी कार्यकक्ष छोडेर बाहिर प्रांगनमा आएका थिए भने नेपाल प्रहरी र सशस्त्र प्रहरी आएर सुरक्षा दिनुपरेको थियो । सेवाग्राही प्रभात भण्डारीले केहि समय अघि तुलसीपुर उपमहानगरपालिकासंगको सहकार्यमा सर्प महोत्सव संचालन गर्नुभएको थियो । सोही महोत्सव वाफतको रकम भुक्तानीमा प्रमुख प्रशासकिय अधिकृत डाँगीले अल्झाएपछि भण्डारीले कार्यकक्षमै ताला लगाएर थुन्नुभएको हो ।
प्रमुख प्रशासकिय अधिकृत डाँगीले बिना कारण पटकपटक अल्झाउन खोजेपछि आज कार्यकक्षमै ताला लगाउन लगाएको प्रभात भण्डारीले बताउनुभयो । त्यसपछि नगरप्रमुख टिकाराम खड्का आएपछि आइतबारसम्म भुक्तानी गर्ने सहमती भएको भण्डारीले बताउनुभयो । रकम भुक्तानीका लागि यसअघि नै कार्यपालिकाले निर्णय गरिसकेको थियो ।