
दाङ, १० पुस । ग्रिन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले सबै धर्मको एउटै मर्म मानव जीवनको रक्षा गर्नु रहेको बताउनुभएको छ । क्रिसमस ‘डे’ को अवसरमा आज तुलसीपुर-३ मा रहेको दमारगाउँ चर्चमा भएको कार्यक्रममा उहाँले सबै धर्मको सम्मान हुन सकेमात्रै सभ्य र समृद्ध समाजको निर्माण हुने बताउनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर समेत रहनुभएका पाण्डले नेपालको संविधानमा नै धर्म निरपेक्ष राष्ट्र भइसकेकाले पनि नागरिकले जुनसुकै धर्ममा पनि आस्था राख्न पाउने बताउनुभयो ।
इसाई धर्मालम्बीको सम्मानका लागि राज्यले नै क्रिसमस डे को अवसरमा सार्वजनिक बिदा दिन थालेको उहाँले बताउनुभयो । नागरिकका लागि यो पनि ठुलो उपलब्धि भएको उहाँको भनाई छ । उहाँले धर्म जुनसुकै भएपनि कर्म गर्ने मानिसमात्रै सफलतामा पुग्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बिजय बिकले आस्थाको आधारमा विभेद हुन नहुने बताउनुभयो । उहाँले धर्मले असल कर्ममा लैजाने भन्दै उहाँले सबैको आस्था र विचारलाई सम्मान गर्न सक्नुपर्नेमा बताउनुभयो । तुलसीपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष बिमल रिजालले सबै धर्मको सम्मान नै असल नागरिकको परिचय रहेको बताउनुभयो । उहाँले धर्मलाई आस्था र मार्गदर्शनको रूपमा लिएर समाजमा एकताका लागि योगदान गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
चर्चका पाष्टर टोप बहादुर महताराले धार्मिक आस्थाकै कारण हुने विभेद अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले दमारगाउँ चर्चको लागि आवश्यक सहयोगको पहल गरिदिन आग्रह गर्नुभयो । उहाँले चर्च विकास र विस्तारका लागि आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले धार्मिक स्थलको निर्माणमा सबै समुदायको सहयोग र एकताको आवश्यकता रहेको भन्दै यसले सामाजिक सद्भाव कायम गर्न मद्दत पुग्ने बताउनुभयो ।
दमारगाउँ चर्चका अध्यक्ष धनसरा विकको अध्यक्षतामा कार्यक्रम भएको हो । पर्सेनी चर्चका पाष्टर ललित बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण चर्चका सचिव सावित्रा विकले गर्नुभएको हो । क्रिसमस डे को अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत गरिएको छ ।