
दाङ, ९ पुस । तुलसीपुर-४ रक्षाचौरमा रहेको गुरू जजुर मावि आगलागीको जोखिम र क्षति न्यूनिकरणबारे सचेतना प्रदान गरिएको छ । लुम्बिनी प्रदेश विपद ब्यबस्थापन गुल्म तुलसीपुरले विपद ब्यवस्थापन सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीको टोलीले आज आगलागीजन्य विपदबाट हुने जोखिम र जनधनको क्षति न्यूनिकरण गर्न अभिमुखीकरण गरिएको हो ।
त्यसअबसरमा तुलसीपुरका प्रहरी नायव निरीक्षक बालाराम केसीले विपद विभिन्न प्रकारका भएपनि विशेषगरी आगलागीको बारेमा सचेतना फैलाउने गरेको बताउनुभयो । आगलागी भएपछि अपनाउनुपर्ने सतर्कता, आगलागी हुँदा निभाउने तरिका, आगलागीमा परी घाइते भएकाको घरमा प्राथमिक उपचार, अथवा अस्पतालसम्म कसरी पुर्याउने भन्ने बारेमा जानकरी दिनुभयो ।
यसैगरी प्रहरी सहायक निरीक्षक बालाराम नेपालीले आगलागीमा धेरै मानिस प्रभावित हुने तथा जनधनको क्षतिको सम्भावना बढ्ने भन्दै उद्योग, कलकारखाना, औधोगिक ग्राम, पेट्रोल पम्प तथा पेट्रोल भण्डारण स्थल अग्नि सुरक्षित बनाउने, घर/भान्छा/भवन निर्माण गर्दा, विद्युतीय वायरिङ, सजावटका लागि राखिएका विद्युतीय सामग्री, ग्याँस चुल्हो आदिको निरीक्षण गर्नाले यसबाट हुने क्षतिबाट बच्न सकिने बताउनुभयो ।
यस्तै प्रहरी सहायक निरीक्षक धनबहादुर चलाउने, प्रहरी जवान मिलन लामिछाने, रम्भाकुमारी राना, सत्य अधिकारीले ग्याँस सिलिन्डर र मट्टीतेल जस्ता प्रज्जलनशील पदार्थलाई सुरक्षित ढगंले राख्नुपर्ने बताएका हुन् । खाना पकाउदा, विद्युतिय सामाग्री प्रयोग गर्दा आगो लागेमा चिसो कपडाले आगो लागेको भागमा हावा छिर्न नदिइ छोपेमा आगो निभाउन सकिने बताएका हुन् ।
यसैगरी प्रहरी जवान राजेन्द्र सुनार, जीतराम चौधरी, पृथ्वी पुनले पेट्रोल, मट्टीतेल, विद्युतिय सामान, धातुहरुमा लागेको आओगोलाई पानी निभाउन नसकिने बताएका हुन् । कार्यक्रममा गुरू जजुर मावि विद्यार्थी, शिक्षकलगायत ७ सय ५० जनाको सहभागीता रहेको थियो ।