
दाङ, ७ पुस । अबका केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदली हुने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आजदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ ।
भोलि भने अझै बढ्ने देखिएको उहाँले बताउनुभयो । त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने उहाँले बताउनुभयो । यसले पश्चिम नेपालका हिमाली क्षेत्रमा बढी हिउँ पर्ने र पश्चिम नेपालका तराईका क्षेत्रमा चिसो बढ्ने देखिन्छ ।
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ ।
बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । आगामी २४ घण्टामा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना छ ।