
बाजुरा, ६ पुस । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर गएको ५ दशमलव ३ रेक्टर म्याग्नेच्युडको भूकम्पले मानवीय क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डलका अनुसार भौतिक क्षतिको विवरण सङ्कलन हुँदै छ । उहाँले बिहानैदेखि क्षतिको विवरण लिइरहेको बताउनुभयो । यस कार्यमा सबै पालिकाका वडाध्यक्षसँग सहयोग मागिएको उहाँले बताउनुभयो ।
प्रारम्भिक विवरण अनुसार मानवीय क्षतिको कुनै जानकारी आएको छैन ।
भौतिक संरचनाका क्षतिबारे विवरण सङ्कलन भइरहेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिवार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए ।
आसपासका जिल्लासहित लुम्बिनी र कर्णाली प्रदेशमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् ।