तुलसीपुर, २० मंसिर । प्युठानको लुङबाट बसाई सरेर दाङ आएका लुङ्गाली रिजालहरुको देवाली पर्व आज(बिहिबार) देखि सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७, श्रीगैँमा रहेको देबघरमा सात वर्षपछि समावेशी देवाली कार्यक्रमको आयोजना गरिएको पुजा व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल रिजालले जानकारी दिनुभयो ।
समितिले बिहीबार देवघरमा पत्रकार सम्मेलनको आयोजना गरेर आजदेखि मंसिर २३ गतेसम्म सञ्चालन हुने कार्यक्रमको बारेमा जानकारी गराएको हो । रिजाल बन्धुको मुख्य आयोजना भएपनि ब्राह्मण, क्षेत्री, खत्री लगायतका सबै समुदायका परिवारहरूले पनि देवाली मनाउने भएकाले यसलाई लुङ्गालीहरूको समावेशी देवाली नामाकरण गरिएको अध्यक्ष रिजालले जानकारी दिनुभयो ।
दाङमा लुङबाट बसाई सरेर आएका २५० भन्दा बढी रिजाल परिवार रहेका छन्। विसं २०४३ सालसम्म प्युठानमै पुगेर सहभागिता जनाउने गरिएको थियो। विसं २०४६ यता दाङमा आयोजना गरिन थालेको अध्यक्ष रिजालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।
पण्डित पोमनारायण रिजालका अनुसार,आज देवालीको पहिलो दिन देउता ओराल्ने कार्यक्रम सम्पन्न भएको छ । देवघरको माथिल्लो तलाबाट ओरालीएका पौराणिक सामग्री, बाजा, घन्ट, खुँडालाई भुसले सफा गरेर राखिन्छ ।
अन्य समयमा उक्त सामाग्री छुन नमिल्ने भएकाले यो समयमा विधिपुर्वका पुजापाठ गरेर सबैलाई पालैपालो वोकेर मन्दिर परिक्रमा गर्ने व्यवस्था मिलाइन्छ । साँझमा पुजारहरूले धामीको काम गर्ने र सोही स्थानमा बसेर भोजन गर्ने प्रचलन रहेको छ । यस्तै भोली शुक्रवार विश्राम रहन्छ । पञ्चमीको दोस्रो दिन विविध परम्परा मिलाउन परापूर्वकालदेखी नै विश्रामको दिनका रूपमा लिइने पण्डित रिजालले बताउनुभयो।
सप्तमी अर्थात तेस्रो दिन भाइबन्धुहरूको भेलामा झाँकसहितको वृहत कार्यक्रम रहन्छ भने चौथो दिन अष्टमीमा देवाली पुजा गरेर समापन गरिन्छ । यस दिन विभिन्न समयमा भाकल गरेका र आशीर्वाद लिनेहरू सबै समुदायबाट सहभागी हुने भएकाले ठूलो भिड लाग्ने गर्दछ। अन्तिममा गौरामा गएर पुजा गरी बोकाबलि दिएर विशेष उत्सव कार्यक्रमसँगै समापन गरिन्छ ।