दाङ, २० मंसिर । बजारमा सिमेन्टको भाउ एकैपटक ह्वात्तै बढेको छ । बजारमा प्रतिबोरा ३ सय ९५ रुपैँयादेखि ४ सय रुपैँयासम्ममा पाइने सिमेन्टको भाउ एकैपटक ४२ दशमलव ५ प्रतिशतले बढेको हो ।
बजारमा अहिले सिमेन्टको भाउ प्रतिबोरा ५५० देखि ५७० रुपैँयासम्ममा पुगेको छ । हार्डवयर व्यवसायीका अनुसार थोक मूल्य प्रतिबोरा ३६५ रुपैँयामा पाइने सिमेन्ट अहिले ५६० रुपैँयासम्म पुगेको हो । सिमेन्टको फुटकर मूल्य प्रतिबोरा अहिले १ सय ५५ देखि १७५ रुपैँयासम्म पुगेको छ ।
बजारमा सिमेन्टको समेत अभावसमेत हुन थालेको छ । सिमेन्ट उद्योगले उत्पादन नै कम गर्न थालेपछि सिमेन्टको अभाव समेत हुन थालेको तुलसीपुर उद्योग वाणिज्य संघ हार्डवयर व्यवसायी संयोजक कल्याण भण्डारीले बताउनुभयो ।
उहाँले अहिलेको सिमेन्टको भाउ बढ्दा उपभोक्ता मारमा परेको र अभावको समस्या समेत झेल्न थालेको बताउनुभयो । सिमेन्ट उद्योगले माग अनुसारको सिमेन्ट उपलब्ध गराउन नसक्दा बजारमा सिमेन्टको अभाव हुन थालेको उहाँको भनाई छ ।
सिमेन्टको भाउ बढेको र ठूला परियोजनादेखि साना घर निर्माणसम्मका काम प्रभावित हुन थालेको उहाँले बताउनुभयो । सिमेन्टको भाउ बढेपछि सामान्य उपभोक्तादेखि ठेकेदारहरूसम्म समस्यामा परेका छन् । सरकारले सिमेन्टको मूल्य नियन्त्रण गर्न पहल गर्नुपर्ने माग उपभोक्ताहरूले गरेका छन् ।
दाङका सहायक प्रमुख जिल्ला अधिकारी शावित्रा पुनले सिमेन्टको भाउ बढेको र उद्योगले उत्पादन कमी गरेर बजारमा अभाव हुन थालेको गुनासो आएको बताउनुभयो । उहाँले कुनै पनि वस्तुको एकैपटक धेरै भाउ बढाउन नहुने बताउनुभयो । उद्योगले सिजनको बेलामा अभाव गराउन थालेको गुनासो आएकाले बुझेर आवश्यक कार्बाही अघि बढाउने उहाँले बताउनुभयो ।