दाङ,१७ मंसिर । मिटरव्याजी विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले १५ दिने अल्टिमेटम जारी गरेको छ । मिटरब्याजीको नाममा भइरहेको आर्थिक शोषणविरुद्ध पिडितको न्यायका लागि यस्तो कदम चालेको पार्टीले जनाएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (बहुमत) का जिल्ला सेक्रेटरी अमरद्वार जारी विज्ञप्तिमा मिटरब्याजीले जनता माथि पार्दै आएको आर्थिक अन्याय र शोषण अन्त्य गर्ने लक्ष्यसहित अभियान सुरू गरेको जनाइएको छ ।
विज्ञप्तिमा बैंक कसुर, चेक अनादर, घरजग्गा तथा सम्पत्ति रोक्का, बिगो बराबरको रकम जम्मा गरी जेल हाल्ने लगायतका मुद्दा फिर्ता लिनुपर्ने,कालोसूची हटाउन,दृष्टिबन्धक तथा छिनुवा पास लिएका घरजग्गा फिर्ता गर्नुपर्ने, अनुत्पादक ऋणको हकमा सरकारी बैंकसरहका सहुलियत ब्याजदर लिनुपर्ने, मिटरब्याजी र बैंक तथा वित्तीय संस्थाको सेटिङमा लिलाम गर्ने र लिलाम सकारेका घरजग्गा सम्बन्धित व्यक्तिलाई लिलाम हुँदासम्मको न्यूनतम ब्याज लिएर फिर्ता गर्नुपर्ने लगाएतका विषय पालना हुनुपर्ने विषय उल्लेख गरिएको छ ।
यसका लागि १५ दिनको समय तोकेको छ । सो समयावधिमा कुनै मिटरब्याजीले पार्टी निर्देशन अवज्ञा गरि नसच्चिए पार्टीले आर्थिक अपराध गर्नेहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ ।