दाङ, १५ मंसिर । अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट करिब ९० लाख ठगि गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले ठगिको आरोपमा बबई गाउँपालिका-६ पञ्चकुलेका ३८ वर्षीय मोहनलाल बुढाथोकीलाई पक्राउ गरेको हो ।
विभिन्न व्यक्तिको उजुरीपछि मंसिर ३ गते नै बुढाथोकीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले बताउनुभयो ।
बुढाथोकीले तुलसीपुरका तीन जना व्यक्तिलाई अमेरिका पठाइदिने भन्दै क्रमश : ४५ लाख, २२ लाख र २० लाख ठगी गरेको जाहेरी परेपछि पक्राउ गरेको डिएसपी ठकुरीले बताउनुभयो ।
प्रहरीका अनुसार विगत दुई हप्तादेखि प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेका बुढाथोकीमाथि अन्य विभिन्न व्यक्तिहरूले पनि ठगीको आरोप लगाएका छन् । बुढाथोकीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर १५ गते शनिवार