२०८१ मङ्सिर २३ गते आइतवार

दर्ता हुनै छाडे व्यवसाय

तुलसीपुर,९ मंसिर । तुलसीपुरमा उपमहानगरपालिकामा व्यवसाय दर्ता हुने क्रम निकै कम रहेको देखिएको छ । उपमहानगरपालिका भित्र करिब ३५ देखि ४० हजारको हाराहारीमा उद्योग तथा यवसायी सक्रिय रहेपनि हालसम्म ८ हजार व्यवसाय मात्र दर्ता भएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको उद्योग तथा उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले उपमहानगरपालिकामा व्यवसाय दर्ताको संख्या अत्यन्त न्यून रहेको बताउनुभयो । उहााले नगरमा दर्ता हुन अटेरी गर्ने गरेको समेत बताउनुभयो ।

१० औं उद्योग स्थापना दिवसका अवसरमा आइतबार शाखा प्रमुख शर्माले पालिकामा दर्ता भएका व्यवसायहरुमध्ये चालु वर्षमा ५० प्रतिशत अर्थात ४ हजार व्यवसाय मात्र नवीकरण भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष ०८०/८१ मा विभिन्न व्यवसायबाट सवा करोड बढि राजश्व संकलन भएको छ ।

व्यवसायीहरूले दर्ता र नवीकरण प्रक्रियालाई बेवास्ता गर्दा राजस्व संकलनमा गत वर्षको तुलनामा चालु वर्षमा कमी आउने उहाँले बताउनुभयो ।

व्यवसायीलाई विभिन्न समयमा घरदैलो कार्यक्रममार्फत दर्ता प्रक्रियामा सहभागी हुन आह्वान गरेपनि प्रभावकारी बन्न सकेको छैन ।

युवा व्यवसायी ओम वलीले नापतौलको जाँचमा व्यवसायीहरुलाई समस्या रहेकाले स्थानीयस्तरमै समस्या समाधानका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

व्यवसायी भद्र बहादुर वलीले बजारमा दक्ष जनशक्तीको अभाव कायम रहँदापनि स्थानीय सरकार दक्ष जनशक्ती उत्पादनमा उदासिनता देखिनु कमजोरी रहेको बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले औद्योगिक विकासका लागि सरोकारवालाहरूले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

रोजगारी सिर्जना र आर्थिक समृद्धिका लागि उद्योगको महत्त्वपूणर् भूमिका रहने भन्दै औद्योगिक विकासका लागि औद्योगिक ग्रामलाई व्यवस्थित गर्ने पहल गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका आर्थिक विकास समिति संयोजक तथा नगर प्रवक्ता माधव वलीले प्रतिस्पर्धाको समयमा बजारमा धेरै चुनौती भए पनि स्थानीय सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले आफुहरु संधै निजि क्षेत्रसंग सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले किसानहरूका लागि शीत भण्डार निर्माण गरि सुविधा उपलब्ध गराउने काम भइरहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस