२०८१ मङ्सिर २३ गते आइतवार

चिर्को सिस्नेरीका युवाहरुले भैली खेलेर गरे खानेपानी मुहानको संरक्षण

सल्यान, २ मंसिर । सल्यानको कपुरकोट गाउँपालिका-५ सिस्नेरीमा युवाहरुले भैली खेलेर पानीको मुहान वरपर तारबार गरेका छन् । चिर्को सिस्नेरीका युवाहरूले भैलीबाट संकलित ४० हजार र २० हजारको जनश्रमदान गरी ६० हजारको लागतमा तारबार गरेका हुन् ।

स्थानीय सरकारलाई पटकपटक आग्रह गरेपनि चासो नदिएपछि भैलोबाट संकलित रकम र जनश्रमदानबाट तारबार लगाएको स्थानीय युवा रोहित महताराले बताउनुभयो । उहाँले राज्यले उदासिना देखाउँदा युवाहरुको सक्रियताले भैली खेलेर तारबार गरेको बताउनुभयो ।

साविक वडा नम्बर ९ का करिब ३ सय घरधुरीले प्रयोग गर्ने यो धारामा पानीको समस्या देखिन थालेपछि युवाहरूले संरक्षण गरेको युवा आकाश रोकाले बताउनुभयो । उहाँका अनुसार तिहारको समयमा देउसी-भैलो खेली संकलन गरिएको ५२ हजार रुपैयाँमध्ये २०% रकम (करिब १० हजार रुपैयाँ) बनभोजका लागि खर्च गरिएको थियो ।

बाँकी ४० हजार रुपैयाँ र करिब २० हजार रुपैयाँ बराबरको जनश्रमदान गरी संरक्षण कार्य सम्पन्न गरिएको हो । ‘पानीको मुहान सुक्न थालिसकेको थियो । उहाँले भन्नुभयो-‘सरकारले केवल आश्वासन दिएर पन्छिन खोज्यो, त्यसैले हामी आफैँले काम गर्‍यौं ।’ यस कदमले जलस्रोत संरक्षण र युवाहरूको सामुदायिक उत्तरदायित्वलाई उजागर गरेको अर्का युवा चुडामनी महताराले बताउनुभयो । स्थानीय बासिन्दाहरूले धाराको संरक्षणमा युवाहरूले देखाएको सक्रियताका लागि धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया दिनुहोस