दाङ, २६ कार्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटमा विश्वमै लोपन्मुख भनिएको सुगन्धकोकिला उत्पादन बढ्दै गएको छ । छिल्लीकोट र आसपासाका १० गाउँका १०५ घरले नै सुगन्धकोकिलाबाट राम्रो आम्दानी लिने गरेका छन् ।
वार्षिक १५० क्वीन्टल सुगन्धकोकिला उत्पादन हुने गरेको छ भने सुगन्धकोकिला विदेश निर्यात गर्ने गरिएको छ । सुगन्धकोकिला (मल्लागिरी)को बिउ बाहिर जिल्लामा समेत निर्यात हुने गरेको छ । हालसम्म बिक्री गरी २६ जिल्लामा बिउ पठाइ सकिएको स्थानीय प्रविर पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार विश्वमै लोपोन्मुख यसको बिरुवा छिल्लीकोटमा पाइन्छ भनेपछि धेरै जनाले बीउ लिएर जाने गरेका छन् । सुगन्धकोकिला प्रतिकिलो ७५० सम्ममा बिक्री हुने गरेको छ । विगतमा किलोको पाँच सयसम्ममा बिक्री गरेपनि पछिल्लो समय मूल्य वृद्धि भएको उहाँले बताउनुभयो ।
तर सुगन्धकोकिलाको कच्चा पदार्थबाट के बन्छ, भन्ने कुरा गाउँलेलाई थाहा नभएको स्थानीयवासी जीवराज रेउलेले बताउनुभयो । एउटा रुखमा एकपटकमा दुई सय किलोसम्म सुगन्धकोकिला उत्पादन हुने गर्छ । हिजोआज सुगन्धकोकिला भित्र्याउने बेला हो । यस वनस्पतिलाई सरकारले संरक्षण गर्नुपर्ने स्थानीयको माग छ ।
पछिल्लो समय वन कार्यालयले केही रुख रोपे पनि संरक्षण तर्फ कुनै चासो नदेखाएको स्थानीयवासीको भनाइ छ । सुगन्धकोकिला पवित्र हुने भएकाले धार्मिक कार्यमा प्रयोग गरिनुका साथै यसको पातबाट तेलसमेत निकाल्न सकिने र पिपलपछि दोस्रो बढी अक्सिजन दिने रुखका रुपमा लिइने अर्का स्थानीयवासी पूणर् पुनले बताउनुभयो ।
सुगन्धकोकिला समुद्र सतहदेखि आठ सयदेखि दुई हजार मिटरको उचाइमा फस्टाउने गर्छ । बिरुवा रोपेको चार वर्षदेखि यसले उत्पादन दिने र यसलाई व्यवस्थित गर्न सकिए देशलाई आर्थिक टेवा पुग्ने स्थानीय बताउँछन् । छिल्लीकोटमा उत्पादित सुगन्धकोकिलाले बेलाबेलामा बजार नपाउने समस्या भएकाले त्यसका लागि चिस्यान केन्द्र स्थापना गरिनुपर्ने माग स्थानीयको छ ।