दाङ १२ कार्तिक । दाङको भालुवाङमा बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका शसस्त्र प्रहरी जवान रेवन पचभैयामगर हिरासत कक्षमै मृत भेटिएका छन् ।
गत असोज २४ गते दाङको भालुवाङमा बालिका बलात्कार आरोप लागेका सशस्त्र प्रहरी जवान पचभैया मगर आज बिहान वडा प्रहरी कार्यालय घोराहीको हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्यूठानको बडडाँडा घर रहेका सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेटक्वाटर भालुवाङमा कार्यरत सशस्त्र प्रहरी जवान पचभैया मगरले प्रहरी हिरासत कक्षको शौचालयमा आफूले लगाएको गन्जी र टिसर्टको पासो लगाएर झुन्डिएर आत्माहत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिनुभयो ।
आरोपित पचभैया सहित अर्को एक जनालाई पनि केही दिन अघि प्रहरीले पक्राउ गरी दाङ-देउखुरी जिल्ला अदालतमा सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो ।