२०८१ फाल्गुन ७ गते बुधवार

उच्च शिक्षाका नाममा अरबौँ रकम बाहिरिदै छ : बोहरा

सल्यान, २७ भदौ । राष्ट्रिय सभा सदस्य उदय बहादुर बोहराले उच्च शिक्षाका नाममा विदेशिने क्रम बढ्दै जाँदा नेपालको अर्थतन्त्र धराशयी स्थितिमा पुग्न थालेको बताउनुभएको छ । पढ्न जाने विद्यार्थीले नेपालको अरबौँ रकम बाहिर लगेको उहाँले बताउनुभयो ।

सल्यानको कपुरकोट गाउँपालिका-५ मा रहेको जीवन ज्योति नमुना माविको ७२ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले उच्च शिक्षाका लागि विदेश जाने स्थितिलाई राज्यले समयमा नै सोच्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय झन्पछि झन् उच्च शिक्षाका लागि विदेशीने क्रम बढ्दो रहेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले नेपालमा उच्च शिक्षाका लागि अवसरहरूको अभाव र विदेशमा प्राप्त हुने शिक्षाको आकर्षणले गर्दा विदेशिने विद्यार्थीहरूको संख्या निरन्तर बढिरहेको बताउनुभयो ।

उहाँले यस किसिमको प्रवृत्तिलाई सन्तुलनमा राख्न नेपालले आफ्नै शैक्षिक प्रणालीमा सुधार गर्दै गुणस्तरीय शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नयाँ शिक्षा ऐन आउन नसक्दा नेपालको शिक्षा क्षेत्र सुधारमा अन्योलको अवस्था रहेको समेत बताउनुभयो ।

अहिले पनि पञ्चयातकालको शिक्षा ऐन रहेको भन्दै उहाँले नयाँ शिक्ष ऐन पास भए मात्र शिक्षा प्रणालीलाई सुधार गर्न सकिने बताउनुभयो । ‘अहिलेको अन्योलताले शिक्षक, विद्यार्थी र अभिभावकमा निराशा छाएको छ ।’ उहाँले भन्नुभयो-‘नयाँ ऐनले शिक्षा प्रणालीलाई सुधार गरेर समावेशी, गुणस्तरीय र प्रविधिमैत्री बनाउन भूमिका खेल्ने आशा गरिएको छ ।’

कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले शैक्षिक सुधारका लागि पालिका सरकार गम्भिर रहेको बताउनुभयो । उहाँले शिक्षाको सुधार नभए अन्य विकासको परिकल्पना गर्न नसकिने बताउनुभयो ।

जीवन ज्योति नमुना माविले ७२ औं वार्षिकोत्सबको आज अवसरमा पूर्व शिक्षक तथा विद्यार्थी सम्मेलन गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य उदय बहादुर बोहराको प्रमुख आतिथ्यता एवं कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

विद्यालयका प्रधानाध्यापक भुपाल साहुले पूर्व शिक्षक तथा विद्यार्थीले खेलेको भूमिकालाई विद्यालयले सम्झिरहने बताउनुभयो । २००९ सालमा स्थापना भएको विद्यालयले २०४२ सालमा माध्यमिक विद्यालयको अनुमति प्राप्त गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म करिब ३ हजार ५ सय विद्यार्थी १० कक्षा पास गरेका छन् । कार्यक्रममा पूर्व प्रधानाध्यापक केशवराज रिजाल, पूर्व विव्यस अध्यक्ष पूरभान पुन लगायतले मन्तव्य राख्नुभएको हो ।

शिक्षक अभिभावक संघका संयोजक तिला बुढाको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक खर्कसिंह बोहराले गर्नुभएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक लगायतलाई सम्मान समेत गरिएको छ ।

सम्मानका केहि तस्विरहरु :

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस