
दाङ, १६ भदौ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले व्यावसायिक बाख्रापालन गरी आयआर्जन बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय तुलसीपुरले आयोजना गरेको तीन दिने व्यावसायिक बाख्रापालन तालिमको उद्घाटन समारोहमा प्रमुख खड्काले व्यावसायिक पशुपालनलाई विस्तार गरेर परिवार र समाजलाई सुखी र खुशी बनाउन योगदान दिनुपर्नेमा जोड दिनुभयो ।
नगर प्रमुख खड्काले एउटा दुईवटा बाख्रा पालेर मात्र व्यवसायिक बाख्रापालन भन्न नसकिने भन्दै यसलाई विस्तार गर्न सुझाव दिनुभयो । साथै, मेहनती उद्यमीहरुलाई आवश्यक सहयोग नपुगेमा उपमहानगरपालिकाबाट सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले वित्तीय संस्थाबाट लिएको कर्जा उचित आयआर्जनमा लगानी गर्न सुझाव दिँदै वित्तीय संस्थाले अनुगमनको जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड कोहलपुर क्षेत्रीय कार्यालयका प्रबन्धक मिन बहादुर हमालले नेपालमा गरिबी न्यूनीकरण, महिला सशक्तीकरण र स्वरोजगारी सृजनामा संस्थाको भूमिका रहेको बताउनुभयो । उहाँले संस्थाले साढे दुई दशकदेखि लघुवित्त सेवा दिँदै आएको र कर्जा लिई व्यवसाय गर्दै धेरै परिवारलाई आर्थिक समुन्नतितिर अगाडि बढाएको जानकारी गराउनुभयो ।
तालिमका प्रशिक्षक सुदाम भट्ट र प्रेम घर्ती मगरले तीन दिनसम्म सहभागीहरुलाई व्यवसायिक बाख्रापालनको सीप प्रदान गर्नेछन् । तालिममा विभिन्न केन्द्रका ३८ जना महिला सदस्यहरु सहभागी छन् ।

ग्रामीण लघु कर्जा विमा वितरण
यसैबीच, संस्थाले तीनजना सदस्यहरुलाई ग्रामीण लघु कर्जा विमा रकम हस्तान्तरण गरेको छ । केन्द्र नं. १०७ की सदस्य कमला चौधरीको मृत्युपश्चात् उनका पति घनु चौधरीलाई पाँच लाख १६ हजार ६० रुपैयाँ बिमा रकम प्रदान गरिएको हो ।
यस्तै केन्द्र नं. १८३ की दुर्गा देवी विकलाई एक लाख ३० हजार र केन्द्र नं. ८५ की लक्ष्मी चौधरीलाई एक लाख ७५ हजार रुपैयाँ बिमा रकम हस्तान्तरण गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काले बिमा रकम हस्तान्तरण गर्दै निर्धन उत्थान लघुवित्तले ग्रामीण क्षेत्रका गरिब तथा कमजोर आर्थिक अवस्थाका परिवारलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउँदै आएको बताउनुभयो ।
कार्यक्रममा शाखा प्रमुख धर्मराज बस्यालले निर्धन लघुवित्तले ऋण, बचत, बिमा, र रकमान्तर गरी मुख्य चारवटा सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । संस्थाले सदस्यहरुलाई १४ हजारदेखि ७ लाखसम्म मृत्यु दाबी बिमा रकम प्रदान गरिरहेको छ ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था देशभरका ७७ वटै जिल्लामा शाखा सञ्जाल फैलाएको छ । १८५ वटा शाखा, १० वटा क्षेत्रीय कार्यालय, र एक केन्द्रीय कार्यालय मार्फत सेवा दिँदै आएको यस संस्थाले ग्रामीण क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेको छ ।