
चितवन, ३१ असार । त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ ।
आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् ।
स्थलगत अनुगमन टोलीमा सहभागी गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले नेपालमा उपलब्ध सबै खालका प्रविधि र जनशक्ति प्रयोग गरेर खोजी गरिरहेपनि फेला पार्न नसकिएपछि खोजी कार्यमा सहयोग गर्न भारत र बंगलादेशलाई अनुरोध गरेको बताउनुभयो ।
यसैगरी बंगलादेशसँग भने काठमाडौंस्थित दूतावासमार्फत् सम्पर्क गरेर आवश्यक प्रविधि र जनशक्तिको सहयोग मागिएको भूसालले बताउनुभयो ।
बंगलादेशका गोताखोर उद्धारमा उत्कृष्ट मानिन्छन् । तर बंगलादेशको टोलीले जलप्रवाह तीव्र भएको स्थानमा खोज्ने गरेको छैन् । दूतावासका कर्मचारीहरुले पनि शान्त खालका नदी तथा तलाउहरुमा खोज्ने दक्षता मात्र आफूहरुसँग भएको तर त्रिशूलीजस्तो तीव्र बहाव भएको नदीहरुमा उद्धारको अनुभव नभएको जवाफ दिएका थिए ।
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो । सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरुको खोजी कार्य जारी राखिएको छ । हालसम्म ११ जनाको मात्र शव फेला परेको छ ।
खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरीको गोताखोरसहित करिब पाँच सय जनाको टोली परिचालन गरिएको छ । तर त्रिशूली नदीको तीव्र बहाव चुनौतीको रुपमा रहेको डा. भूसालले बताउनुभयो ।