
तुलसीपुर, १९ असार । तुलसीपुरका युवालाई व्यवसाय योजना निर्माण सम्बन्धि तालिम दिन थालिएको छ । नगरभित्र व्यवसाय गरिरहेका तथा नयाँ व्यवसायमा जोडिन लागेका युवालाई व्यवसाय योजना निर्माणबारे तालिम दिन थालिएको हो ।
तालिमको बुधबार तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्नुभएको हो । उहाँले युवालाई व्यावसायिक लक्ष्यका साथ अघि बढेपछि सफल हुन सकिने बताउनुभयो ।
ग्रिन फाउण्डेशन नेपालका अध्यक्ष समेत रहनुभएका पाण्डेले लक्ष्य र उद्देश्य बिहिन अघि बढ्दा असफल हुने गरेकोले व्यावसायीक सफलतामा पनि लक्ष्य र उद्देश्य अनिवार्य हुनुपर्ने बताउनुभयो । उहाँले कुनै पनि नागरिक सोचकै कारण सफल र असफल हुने गरेको बताउनुभयो । पाइला अघि नबढाएर गन्तव्यमा पुग्न नसकिने भन्दै उहाँले गन्तव्यमा पुग्नका लागि पाइला अघि बढाउनै पर्ने बताउनुभयो ।
यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष वर्षात भण्डारीले तालिम पश्चात् सफल व्यवसायी बन्न युवालाई आग्रह गर्नुभयो । तालिम लिने तर व्यवहारमा कार्यान्वयन नहुँदा एउटै व्यक्ति तालिममा दोहोरिने अवस्था रहेको समेत बताउँदै उहाँले तालिम पश्चात् प्रतिफल देखिने गरि काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारी, कार्यपालिका सदस्य बसन्ता केसी, न्यायिक समिति सदस्य लालमती भण्डारीले युवालाई व्यावसायिक सफलताका लागि शुभकामना दिनुभयो । कार्यक्रममा करिब २० जना युवाको सहभागिता रहेको छ । तालिममा व्यवसाय संचालनका लागि बनाउनुपर्ने योजनाका बारेमा प्रशिक्षण गरिएको छ ।
नगरस्तरिय युवा संजालका अध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा तालिमको उद्घाटन कार्यक्रम भएको हो ।
ग्रिन फाउण्डेशन नेपाल, तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा तालिम संचालन गरिएको हो । कार्यक्रमको सहजीकरण संजालका सचिव प्रेरणा परियारले गर्नुभएको हो । तालिम भोलिसम्म संचालन हुने आयोजकले जनाएको छ ।