२०८१ फाल्गुन १ गते बिहिवार

आज असार : १५ राष्ट्रिय धान दिवस र दहि च्युराको सम्बन्ध

दाङ, १५ असार । दाङसहित देशभर आज राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै छ । असार १५ दही चिउरा खने दिनको रुपमा किसानमाझमा लोकप्रिय प्रसिद्ध पर्व हो ।

वि.सं. २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निणर्य गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गर्दै दही चिउरा खाएर मनाइँदै छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।

मध्य गर्मीको यो समयमा युवा युवतीले खेतमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलतासँगै शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

दही चिउराको महत्त्व
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन्। पछिल्लो समय दही, चिउरासँगै आँपको सिजन भएकाले आँपका साथमा मासुसमेत खाने प्रचलन बढ्दै गएको छ ।

नेपाली संस्कृतिमा दहीको स्थान महत्वपूणर् छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूणर् काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।

आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको छ ।

प्रकाशित मिति : २०८१ असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस