२०८१ फाल्गुन ७ गते बुधवार

सिमलखुट्टीवासीलाई खोलाबाट पानी बोकेर खानुपर्ने बाध्यता

तुलसीपुर, १० असार । तुलसीपुर-१३ सिमलखुटिमा अहिलेसम्म कुनै वर्षपनि गर्मियाममा खानेपानीको समस्या स्थानीयले भोग्नुपरेको थिएन् । यो वर्ष लामो समयसम्को खडेरीले गाँउमा रहेका कुवा सुकेपछि तुईखोलामा जरूवा बनाएर खानेपानीको आपूर्ति गर्ने गरेको टेक बहादुर महताराले बताउनुभयो ।

‘गाउँमा धारा,डिपबोरीङ केही छैन् ।’ उहाँले भन्नुभयो-‘मैले थाहा पाउने भएदेखि खडेरीमा कुवा सुकेको आजसम्म थाहा पाएको थिएन । आजभोली समस्या भएको छ ।’

उहाँका अनुसार साजखुटिको काफलटोके र महतारा टोलका १०/१२ घरका लागि खोला छेउमा एउटा सार्वजनिक कुवा छ । त्यही कुवापनि खडेरीले पानी सुकेपछि बिहान सबैभन्दा पहिला पुग्ने ब्यक्तिले पानी भर्न पाएपनि अन्य जम्मै जरूवाको पानी ल्याएर खाने गरेको उहाँले बताउनुभयो ।

सिमलखुटिकै निर्मला महताराले पनि अहिलेसम्मकै पानीको चरम अभाव भोग्नुपरेको बताउनुभयो। गाँउमा रहेको कुवा पहिलोपटक सुकेपछि करिब १५ मिनेटको समय लाएर खोलामा जरूवा बनाइ खानेपानी ल्याउने गरेको उहाँले बताउनुभयो ।

गाउँमा समेत खानेपानीको चरम अभाव हुनथालेपछि स्थानीय भने चिन्तित बनेका छन् । अब खानेपानीको दिगो व्यवस्थापनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने रविन्द्र खत्रीले बताउनुभयो ।

गाउँमा धारा अथवा डिपवोरीङको व्यवस्था नहुँदा सम्म खडेरीका समय खानेपानी समस्या समाधानका लागि अप्ठेरो हुने गरेका खत्री बताउनुहुन्छ । सिमलखुटिमामात्र होइन तुलसीपुर-७ को डाबर,बनहरी,१८ र १९ नम्बर वडाको केही बस्तिहरूमा यश अघिनै खानेपानीको समस्या देखिएपछि केही स्थानमा पानी ट्याङकर मार्फत उपभोक्तालाई पानी वितरण गर्ने गरिएको थियो।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष मोहनलाल पौडेल सिमलखुटि,साजखुटि,पनालीवोट लगाएतका बस्तीमा देखिएको खानेपानीको चरम अभावलाई समाधान गर्न चालू वर्षमा एउटा सार्वजनिक कुवा निर्माण गरिएको बताउनुभयो ।

खानेपानीको समस्या बढ्न थालेपछि आगामी वर्षको बजेटमा त्यस क्षेत्रका समुदायलाई खानेपानीको उचित व्यवस्थापनका लागि बजेट विनियोजन गरिने बताउनुभयो।

सुरक्षित र सफा खानेपानी नपाउदा विभिन्न सरूवाजन्य रोगहरूबाट समेत नागरिकहरू बिरामी पर्ने गरेका छन् ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस