दाङ, २८ जेठ । दाङसहित तराईका जिल्लामा अत्याधिक गर्मी बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका ठाउँहरुमा अत्यधिक गर्मीको सम्भावना छ ।
अस्ति शनिबार र हिजो आइतबार पानी नपरेपछि देशैभर गर्मी बढेको छ । हिजो दाङ उपत्यकाको तापक्रम ३७ डिग्री सेल्सियस पुगेको छ । धनगढीको तापक्रम ४२ दशमलव ९ डिग्री सेल्सियस र नेपालगन्जको तापक्रम ४२ दशमलव ६ डिग्री सेल्सियस पुगेको छ ।
दिपायल र वीरेन्द्रनगरको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तराईमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको विभागले जनाएको छ । विभागले तराईमा विभिन्न ठाउँमा आज पनि तातो हावासँगै तातो लहरको लहर ‘लू’ को सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
तातो हावाको लहरबाट हुने सम्भावित असरमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत समस्या देखिने डाक्टरहरुले बताएका छन् ।
तातो हावाको लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्रै वा चिसो ठाउँमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिँड्ने, हल्का सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने गर्नुपर्छ ।
केही दिनमै मनसुन भित्रने भएकाले गर्मी घट्ने मौसमविदको भनाइ छ । यसैबिच लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।