
दाङ, २७ जेठ । तलसीपुरमा नमुना युवा नगर सभा अभ्यास आइतबारदेखि शुरु भएको छ । युवाको व्यक्तित्व तथा नेतृत्व विकासका लागि नमुना युवा नगर सभाको अभ्यास शुरु गरिएको हो ।
नगरस्तरिय युवा संजालले विभिन्न संघसंस्थाको समन्वयमा नमुना युवा नगर सभा संचालन गरेको हो । नमुना युवा नगर सभाको उद्घाटन निवर्तमान राष्ट्रिय सभा सदस्य कोमल वलीले गर्नुभएको हो । उहाँले युवालाई सहि मार्गका लैजानका लागि सरकारले युवामैत्री नीति बनाउनुपर्ने बताउनुभयो ।
उहाँले मानविय विकास नहुँदासम्म देश विकासको परिकल्पना गर्न नसकिने बताउनुभयो । उहाँले तुलसीपुर उपमहानगरपालिकाले युवालाई प्रविधिको क्षेत्रमा जोड्नका लागि आवश्यक अध्ययन केन्द्रको स्थापना गर्नुपर्ने बताउनुभयो ।
‘तुलसीपुर उपमहानगरपालिकाले अध्ययन केन्द्रको स्थापना गरी युवालाई बाहिरी कुराको ज्ञान दिने वातावरण बनाउनुपर्छ ।’ उहाँले भन्नुभयो–‘युवाका लागि स्पेशल पार्क बन्नुपर्छ, त्यो पार्क फोटो खिच्ने, भिडियो बनाउने होइन कि डिजिटल प्रविधिको बारेमा ज्ञान हासिल गर्ने , किताब पढ्ने वातावरण बनाउनुपर्छ ।’
तुलसीपुर उपहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले सरकारले युवालाई परिचालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीकै कारण विभिन्न बेथिति बढेको समेत बताउनुभयो । उहाँले तुलसीपुर उपमहानगरपालिकामा कतिपय कर्मचारी व्यक्तिगत स्वार्थमै अल्झिदा समस्या देखिएको बताउनुभयो । बजारमा देखिने फोहोर भन्दा पालिकाभित्र रहेको फोहोर हटाउन गाह्रो विषय भएको उहाँको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले नमुना अभ्यासले भोलिको दिनमा युवालाई नेतृत्व विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले युवालाई सहि ढंगले परिचालन गर्न नसक्ने हो भने देशमा डरलाग्दो स्थित आउने बताउनुभयो ।
देशमा निराशा हुनुपर्ने अवस्था नरहेको बताउँदै उहाँले यद्यपि सरकारले सोचेजस्तो वातावरण बनाउन नसकेको बताउनुभयो । युवाहरु पनि सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले एकातिर युवाको मानसिकतामा विदेश नगइ हुँदैन् भन्ने स्थित सिर्जना गरेको र अर्कोतिर युवालाई लागूऔषध दुर्व्यसनतर्फ लैजाने शक्तिहरु लागि परेको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका विधायन समितिका संयोजक तथा वडा नम्बर २ का अध्यक्ष भिम बहादुर योगीले युवा पलायन रोक्नका लागि पहल गरिनुपर्ने बताउनुभयो । उहाँले युवालाई कुलतबाट बचाएर देशको उन्नयनमा लगाउनुपर्ने बताउनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले युवाले आफ्नो नेतृत्वदायी भूमिका खोज्नुपर्ने बताउनुभयो । युवाले पनि जिम्मेवारी र दायित्व पूरा गर्नुपर्नेमा उहाँको जोड छ । देशको नीतिकै कारण युवाहरू पलायन हुने अवस्था रहेको उहाँले बताउनुभयो ।
तुलसीपुर–६ का निवर्तमान अध्यक्ष नवराज लामिछानेले युवा देशको भविष्यसंग जोडिएको बताउनुभयो । युवालाई सहि मार्गमा लैजानका लागि नमुना युवा सभाले महत्वपूर्ण भूमिका खेल्नुभयो । नगरस्तरिय युवा संजालका उपाध्यक्ष प्रकाश रावतको अध्यक्षता निवर्तमान राष्ट्रिय सभा सदस्य कोमल वलीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।
युवालयको कार्यक्रम सहायक आरोही अधिकारीको स्वागतबाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण नगरस्तरिय युवा संजालका अध्यक्ष ओदबहादुर भण्डारी (गणेश) ले गर्नुभएको हो । आइतबारदेखि शुरु भएको नमुना युवा नगरसभा मंगलबारसम्म चल्ने आयोजकले जनाएको छ ।