दाङ, २२ जेठ । १० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ । बंगलादेशमा सन् २०१४ मा १० वर्षअघि नेपाल टी-२० विश्वकप क्रिकेटमा डेब्यु गर्दा सिंगो नेपाल क्रिकेटमय बनेको थियो ।
अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा नेपालको उपस्थितलाई आम नेपालीसँगै विश्व क्रिकेटले महत्त्वका साथ हेरेको छ । पारस खड्काको कप्तानीमा बंगलादेशमा विश्वकपमा डेब्यु गरेको नेपालले १० वर्षपछि रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ । १० वर्षअघि विश्वकप टोलीमा रहेका राष्ट्रिय टिमका खेलाडीमध्ये अहिले सोमपाल कामीबाहेक सबै नयाँ छन् ।
१० वर्षको अवधिमा संरचनागत सुधार नभए पनि नेपाली क्रिकेट खेलाडीको मेहनतले फेरि विश्वकपको मैदानमा नेपाल पुगेको छ । नेपाली क्रिकेट फ्यानको १० वर्षको प्रतिक्षा मंगलबार राति अमेरिकाको डालास मैदानमा पूरा हुँदैछ ।
नेपालले पहिलो खेल मंगलबार राति ९ः१५ बजे अमेरिकाको डालासस्थित ग्रान्ड पियरे मैदानमा हुँदैछ । नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले विश्वकपको सुरुवात गर्दैछ ।