
तुलसीपुर,१७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ जितपुर निवासी समाजसेवी उपेन्द्र पौडेलले सडकपेटिमा जय शिव महाकाल संस्थाले व्यवस्थापन गरेको स्थानमा खाना खान पुग्ने बटुवाहरुका लागि घरमा उत्पादित लिचि निशुल्क वितरण गर्न शुरु गर्नुभएको हो ।
अत्यधिक गर्मि बढेपछि तुलसीपुर सहित देशभरको जनजिवन प्रभावित भैरहेको समयमा गर्मीयाममा तुलसीपुर बजार भएर ओहोदोहोर गर्ने बटुवाहरुलाई केहि शितलता प्रदान गर्ने उद्देश्यले नयाँ वषपार्कमा बिहिवार बिहानैदेखि लिची बाँड्न थाल्नुभएको थियो ।
सो स्थानमा जय शिव महाकाल नामक संस्थाले सडकपेटिमा समस्यामा रहेका नागरिकहरुलाई खाना खुवाउदै आएको छ । उक्त संस्था संग समन्वय गरेर खाना खान पुगेका वटुवाहरुलाई लिचि खुवाउने कार्यक्रमको आयोजना गरिएको पौडेलले बताउनुभयो ।
‘हामिले घरमा लिच्चि रोपेका थियौं,यसपाली राम्रो उत्पान भएको छ’-उहाँले भन्नुभयो-‘घरमा खाएर बचेको फल बजारमा बेच्दा राम्रै आम्दानी पनि गर्न सकिन्थ्यो । गर्मी मौसम छ,केही वटुवाहरुलाई लिच्चि चखाउँ भन्ने लाग्यो तेसपछि यस्तो निणर्य गरेको हुँ ।’
गर्मियाममा पौडेलले शुरू गरेको रचनात्मक यो अभियानले सिजनको फल लिचि खान पाँउदा वटुवाहरु भने खुशी देखिन्थे ।