२०८१ फाल्गुन ७ गते बुधवार

जेष्ठ नागरिकको गुनासो : सार्वजनिक सेवामा सम्मानजनक व्यवहार छैन्


दाङ, १४ जेठ । सार्वजनिक सेवा सहजरुपमा लिन नपाएको जेष्ठ नागरिकले गुनासो गरेका छन् । जेष्ठ नागरिकका अधिकार विषयक तुलसीपुरमा भएको संवाद कार्यक्रममा जेष्ठ नागरिकले यातायात सेवा, स्वास्थ्य सेवा, बैंकिङ सेवा सहजरुपमा नपाएको गुनासो गरेका हुन् ।

जेष्ठ नागरिक बुद्धीराम भुषालले सार्वजनिक यातायातमा जेष्ठ नागरिकले पाउनुपर्ने छुट नपाएको, बस स्टापले सम्मानजनक व्यवहार नगरेको, स्वास्थ्य सेवा पनि सहजरुपमा पाउन नसकेको गुनासो गर्नुभयो ।

उहाँले जेष्ठ नागरिकका अधिकार व्यवहारतह कार्यान्वयनका लागि सरोकारवाला सबै निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जेष्ठ नागरिक ललित बहादुर वलीले जेष्ठ नागरिक अधिकार व्यवहारिकरुपमा कार्यान्वयनका लागि वडा वडामा सचेतना कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

यस्तै नेब बहादुर वलीले जेष्ठ नागरिकको अधिकार कार्यान्वयनमा स्थानीय सरकार र वडा सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । कार्यक्रममा जेष्ठ नागरिक लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारीले संविधानमा उल्लेख भएका जेष्ठ नागरिकका अधिकार कार्यान्वयनका लागि माग गर्नुभयो ।

कार्यक्रममा सिद्धार्थ बैंक तुलसीपुरका प्रमुख जीवन आचार्य र महालक्ष्मी बैंकका तुलसीपुर शाखा प्रमुख खगेन्द्र बिएमले अशक्त जेष्ठ नागरिकलाई गाउँमै गएर सामाजिक सुरक्षा भत्ता दिन सकिने तर वडाले यसको समन्वय गर्नुपर्ने बताउनुभयो ।


राप्ती प्रादेशिक अस्पतालका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीले जेष्ठ नागरिक स्वास्थ्य बिमामा जोडिन नसकेको बताउनुभयो ।

उहाँले बजेट अभावमा पनि अस्पतालले सामाजिक इकाईबाट प्रदान गर्ने सेवामा निरन्तरता दिएको बताउनुभयो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका रबिन्द्र मल्लले जेष्ठ नागरिकलाई न्याय सेवामा प्राथमिकतामा राख्ने गरेको बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका-६ का निवर्तमान अध्यक्ष नवराज लामीछाने, स्वास्थ्य शाखा प्रमुख ओम पी न्यौपाने लगायतले मन्तव्य राख्नुभएको हो ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले जेष्ठ नागरिकको अधिकार कार्यान्वयनका लागि स्थानीय सरकार गम्भिर रहेको बताउनुभयो । उपप्रमुख स्यानी चौधरीले जेष्ठ नागरिक समाजको धरोहर भएको उनिहरुको सम्मानमा सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा संवाद समुह दाङको सहजीकरणमा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण संवाद समुहका सुशिल बस्नेत र शुष्मा लामिछानेले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस