२०८१ मङ्सिर २३ गते आइतवार

विद्यार्थीलाई लागूऔषध र साइबर अपराधबारे सचेतना

दाङ, १३ जेठ । दाङको तुलसीपुरमा लागूऔषध तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । विद्यार्थीलाई लागूऔषध दुव्र्यसन, ट्राफिक नियम र साईबर अपराधबारे सचेतना दिन कार्यक्रम गरिएको हो ।

तुलसीपुर बहुप्राविधिक शिक्षालय ( मेट्रो कलेज) को आयोजना तथा ईलाका प्रहरी कार्यालय तुलसीपुर, ट्राफिक प्रहरी कार्यालय र नयाँ पाईला पुनस्र्थापना केन्द्र बिजौरीको सहकार्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा तुलसीपुर उपमहानगर पालिकाका नगर प्रमुख टिकाराम खड्काले नैतिकवान जनशक्ति उत्पादनका लागि विद्यार्थीलाई लागूऔषध शिक्षा, ट्राफिक नियमबारे सचेतना र साइबर अपराधबारे शिक्षा दिन आवश्यक रहेको बताउनुभयो ।

नगर उपप्रमुख स्यानी चौधरीले छोराछोरीहरुलाई कुलतमा फस्न नदिनको लागि अभिभावकले निगरानी गर्नुपर्ने बताउनुभयो । उहाँले अभिभावकहरुले आफ्नो छोराछोरीहरुको संगत कस्तो संग छ त्यसमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

यस्तै ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुरप्रसाद पोखरेलले सामाजिक सचेतनाको अभावले पछिल्लो समय अपराधका घटना बढेको बताउनुभयो । नागरिकलाई सचेत गराउनको लागि सबै क्षेत्रमा आबद्ध संघसंस्थाहरु गाँउबस्ती सम्म पुगेर सचेतनाको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नयाँ पाईला पुनस्थापना केन्द्रका मनोविद् शैलेस शर्माले धेरै युवाहरु साथीहरुको लहलहैमा लागेर दुव्यर्सनीमा फसेको बताउनुभयो । उहाँले प्राय १३ देखि १९ वर्ष उमेर समूहका युवाहरु साथीहरुको संगतकै कारण कुलतमा फस्ने गरेको बताउनुभयो ।

यस्तै अधिवक्ता सुस्मा केसीले धेरै व्यक्तिहरुलाई साईबर अपराध सम्बन्धी सामान्य कुराको ज्ञान नहुँदा साईबर अपराध बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले बढ्दो प्रविधिसंगै सामाजिक सञ्जालको सही सदुपयोग नहुँदा साईवर सम्बन्धी अपराध बढेको बताउनुभयो ।

मेट्रो कलेजका शिक्षक अपिल आचार्यको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजिकरण मेट्रो कलेजका शिक्षक केपी न्यौपानेले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस