२०८१ फाल्गुन ३ गते शनिवार

तुलसीपुरमा सडक मर्मतको ठेक्का पाएको गाउँपालिका अध्यक्षकै निर्माण कम्पनिको जमानत जफत


दाङ, ५ जेठ । तुलसीपुर उपमहानगरपालिकाले सल्यानको एक गाउँपालिका अध्यक्षको निर्माण कम्पनीको जमानत जफत गर्ने निणर्य गरेको छ ।

उपमहानगरको २२औँ कार्यपालिका बैठकले तुलसीपुर बजार क्षेत्र सहित अन्य ठाउँमा बाटो मर्मत गर्ने ठेक्का पाएको जेन्सन कन्ट्रक्सनको जमानत जफत गर्ने निणर्य गरिएको हो ।

जेन्सन कन्ट्रक्सनलाई तुलसीपुर उपमहानगरले गत फागुन ३० गते सम्झौता गर्न आउन भन्दै पत्राचार गरेको थियो । तर,उक्त निर्माण कम्पनीले पत्र बुझेको १५ दिनसम्म पनि कार्यसम्पादन जमानत दाखिला पेश गर्न सकेको थिएन ।

कार्यपालिकाले गरेको निणर्यमा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा ५ बजोजिम जमानत दाखिला गरी बोलपत्र सम्झौता गर्न नआएकाले जेन्सन कन्ट्रक्सनको जमानत जफत गरी सम्वृद्वि कन्ट्रक्सनको बोलपत्र स्वीकृत गरिने उल्ललेख छ ।

स्रोतका अनुसार जेन्सन कन्ट्रक्सनको रकम करिब ४ लाख जमानत रकम जफत हुनेछ । जेन्सन कन्ट्रक्सनका संचालक सल्यानको सिद्धकुमाख गाउँपालिका अध्यक्ष भरत गिरी हुन् ।

गिरी नेपाली काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । ठेक्का पाएको जेन्सन कन्ट्रक्सनको जमानत जफत गरेसँगै अब दोस्रो निर्माण कम्पनीसंग कामको सम्झौता गर्ने तुलसीपुर उपमहानगरले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस