तुलसीपुर, ३ जेठ । तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीले सपथ तथा पदभार ग्रहण गरेका छन् । संघको २९ बैशाखमा भएको निर्वाचनमा निर्वाचित पदाधिकारीले सपथ तथा पदभार ग्रहण गरेका हुन् ।
निर्वाचन समितिका संयोजक प्रविण लम्सालको अध्यक्षता तथा उच्च अदालत तुलसीपुरका मूख्य न्यायधिस नित्यानन्द पाण्डेयको प्रमुख आतिथ्यतामा पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम भएको हो ।
त्यस अवसरमा मूख्य न्यायधिस पाण्डेयले तुलसीपुर प्रशासनिक केन्द्र हुन नसक्दा आर्थिक क्षेत्र चलायमानमा समस्या हुन थालेको बताउनुभयो । उहाँले तुलसीपुर कुनै समय तुलसीपुर अञ्चल सदरमुकामको रुपमा रहेको उल्लेख गर्दै नयाँ संघिय व्यवस्था लागु भएसंगै प्रशासनिक केन्द्रबाट बिमुख हुन थालेको बताउनुभयो ।
तुलसीपुरलाई नयाँ आर्कषणको केन्द्र बनाउन संभावित क्षेत्रको पहिचान गर्ने जिम्मेवारी नव निर्वाचित पदाधिकारमाझ आएको उहाँको भनाई छ ।
यस्तै नवनिर्वाचित अध्यक्ष बिनिल केसीले तुलसीपुरको आर्थिक विकासका लागि नया निर्वाचित पदाधिकारीको प्रमुख भूमिका हुने बताउनुभयो । उहाँले व्यवसायीलाई शान्ति सुरक्षामा व्यवसाय गर्ने वातावरण बनाउनका लागि सम्बन्धित निकायसंग पहल गर्ने बताउनुभयो ।
नेकपा एमाले तुलसीपुरका सचिव रूपबहादुर खत्री, नेकपा माओवादी तुलसीपुरका अध्यक्ष मोहन थापा, नेपाली कांग्रेस तुलसीपुरका सहसचिव शेषमणी भण्डारी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी लगायतले तुलसीपुरलाई आर्थिक रुपमा चलायमान बनाउनका लागि नयाँ पदाधिकारीले महत्त्वपूणर् भूमिका खेल्ने बताउनुभयो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, तुलसपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले उपभोक्ता घट्दै गएको अवस्थामा बजारलाई चलायमान बनाउनु मूख्य चुनौति बढ्दै गएकोले आगामी दिनमा तुलसीपुरलाई आर्थिक रुपमा विकास गर्नु प्रमुख दायित्व रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण निर्वाचन समितिका सदस्य पुष्कर भण्डारीले गर्नुभएको हो ।