२०८१ जेष्ठ ५ गते शनिवार

बिजौरी क्षेत्रमा खानेपानीको अभाव : ट्यांकरबाट पानी पुर्‍याइदै


दाङ,२२ बैशाख । तुलसीपुर उपमहानगरपालिकामा रहेको बिजौरी क्षेत्रमा पनि खानेपानीको चरम अभाव भएको छ । तुलसीपुर-१८ दुधरासमा रहेको जुरपनिया मैनतारा खानेपानी तथा सरसफाई समितिले सो क्षेत्रमा उपभोक्तालाई खानेपानी उपलब्ध गराउदै आएको छ ।

केहि दिन यता गर्मी बढ्दा संस्थाले वितरण गर्ने पानीका तीनवटै मुहानहरु सुक्न थालेपछि खानेपानीको अभाव भएको संस्थाका सचिव दामोदर बस्नेत(राकेश) ले बताउनुभयो । जसमध्य जुरपनिया र मैनतारा मुहान सुकेको छ भने बैसबुटा मुहान मात्र चालु अवस्थामा रहेको छ ।

पानीको चरम अभाव भएपछि वस्तीहरुमा खानेपानी संगै लत्ता कपडा धुन र वस्तुभाउका लागि समेत समस्या भएको छ । संस्थाले गर्मीयाममा विगतका वर्षमा खानेपानीको अभाव हुँदा स्थानीय सक्राम खोलाको पानी शुद्धिकरण गरेर समेत उपभोक्तालाई वितरण गर्ने गरेको थियो ।

तर अहिले सक्राम खोलामापनि पानी सुक्न थालेपछि झनै समस्या थपिएको उहाँले बताउनुभयो । यसवर्षपनि खोलामा रहेको पानी मुहानमा लैजाने र शुद्धिकरण गरेर उपभोक्तालाई सहज रुपमा पानी खुवाउन सक्रामका स्थानीयसंग छलफल भएको छ । स्थानीयले समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

जुरपनिया मैनतारा खानेपानी संस्थाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७,१८ र १९ मा ८ सय २५ धारा वितरण गरेको छ । वितरित धारामा दैनिक ७ लाख लिटर पानी आवश्यक रहेको छ । तर अहिले दैनिक ५० हजार लिटर पानीमात्र सस्थाले वितरण गर्दे आएको छ ।

यसरी हेर्दा अहिले उपभोक्तालाई दैनिक ६ लाख ५० हजार लिटर पानी अपुग रहेको छ । सबैभन्दा धेरै समस्या वडा नम्बर १८ का उपभोक्ताहरुलाई रहेको सचिव बस्नेतले जानकारी दिनुभयो ।

खानेपानीको समस्या बढेपछि दुई दिन यता संस्थाले एउटा ट्याङकर मार्फत खानेपानी समस्या भएका वस्तीहरुमा निशुल्क पानी वितरण गर्न थालेको छ । वर्षा सुरु नहुँदासम्म खानेपानीको समस्या यथावत रहने भएकाले अभाव भएका वस्तीमा निरन्तर ट्याङ्करबाट निशुल्क रुपमा खानेपानी उपलब्ध गराईने सचिव बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस