२०८१ फाल्गुन ६ गते मङ्गलवार

कृषि फमसहित तुलसीपुरका तीन ठाउँमा आगलागी

तुलसीपुर, १९ बैशाख ।
तुलसीपुरमा बुधबार (आज) एकै दिनमा तीन ठाउँमा आगलागी भएको छ । तुलसीपुर-७ का दुई स्थान र तुलसीपुर-१२ को कृषि फम गरी तीन ठाउँमा आगलागी भएको छ ।

तुलसीपुर-७ मा श्रीगणेश सामुदायिक बनमा दिउँसो करिब २ बजेतिर लागेको आगो करिब साढे २ घण्टापछि नियन्त्रणमा आएको बनका अध्यक्ष बामदेव भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार नमुना हरियाली टोल नजिकैको स्थानमा दिउँसो अचानक आगो लागेको हो ।

बनमा लागेको आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाको दमकल माग गरिएको थियो । आगो निभाउनका लागि दमकल आउँदै गरेको जानकारी नगरका कर्मचारीले जानकारी गराए तर आगो नियन्त्रणमा आउँदासम्म दमकल पुग्न सकेन । आगलागीबाट करिब ३ बिगाह क्षेत्रफल बनमा क्षति पुगेको छ ।

बनमा आगो लागेपछि स्थानीय, अस्थायी प्रहरी पोष्ट गोटीखोलाबाट प्रहरी र १९ नम्बर बाहिनीबाट पुगेको नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा लिएको तुलसीपुर-७ का अध्यक्ष रामबहादुर जिसीले बताउनुभयो ।

यस्तै बुधबार नै तुलसीपुर-७ को जितपुरमा वस्ती नजिककैको बाँसघारीमा आगो लागेको छ । बाँसघारीमा लागेको आगो करिब डेढ घण्टामा नियन्त्रणमा आएको वडा अध्यक्ष जिसीले बताउनुभयो ।

स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएका हो । आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकामा फोन गरेपनि नगरले कुनै चासो नदिएको स्थानीयको गुनासो छ । नजिकै ठुलो वस्ती रहेकोले आगो समयमै नियन्त्रणमा लिन दमकल बोलाएपनि नगरले चासो नदिएको स्थानीयको गुनासो छ ।

यस्तै बुधबार नै तुलसीपुुर-१२ मा रहेको बहुउद्देश्यीय कृषि फममा आगलागी भएको छ । आगलागीबाट करिब १ करोडको क्षति भएको छ । फममा आगलागीको कारण खुल्न नसकेको वडा अध्यक्ष खुशीराम चौधरीले बताउनुभयो । आगलागी हुने बेलामा फमका संचालक सन्तोष घिमिरे घोराहीमा हुनुहुन्थ्यो । आगलागी भएको करिब २ घण्टापछि उहाँ आउनुभएको थियो ।

आगलागीको एकिन कारण खुल्न सकेको छैन् । आगो बुधबार दिउसो साढे १ बजेतिर लागेको र करिब ३ घण्टापछि ठुलो आगो नियन्त्रणमा आएपनि परालमा अहिले पनि आगोको लागिरहेको छ ।

आगलागीबाट बिक्रिका लागि तयारी रहेका च्याउ जलेर नष्ट भएको छ । आगो नियन्त्रण गर्न नगरबाट दमकल बिग्रिएका कारण ट्यांकरको सहायता लिइएको हो । तर दमकलजस्तो प्रभावकारी नभएको स्थानीयको भनाई छ ।

दमकल बिग्रेका कारणले आगलागी भएको स्थानमा दमकल नगएको विपद व्यवस्थापन शाखा अधिकृत टोप बहादुर डाँगीले बताउनुभयो । उहाँका अनुसार नगरको दमकल चार दिनअघि बिग्रेको हो । शान्तिनगरमा चार दिन अघि आगो निभाउन पुगेको दमकल त्यहि बिग्रीएपछि अहिले मर्मतको काम भइरहेको उहाँले बताउनुभयो ।

पश्चिम दाङका चार वटै पालिकामा तुलसीपुर उपमहानगरपालिकाको दमकलले काम चलाउने गरिएको छ । अन्य पालिकामा दमकल नहुँदा तुलसीपुरकै दमकलले अन्य पालिकामा पनि आगो निभाउने गरेको बढी समस्या देखिने गरेको उहाँले दावि गर्नुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस