दाङ, १६ बैशाख । तुलसीपुर मेट्रो कलेजमा ’फुड फेस्टीवल’ गरिएको छ । फुड एण्ड डेरी टेक्नोलोजी डिपार्टमेन्टमा अध्ययनरत विद्यार्थीले फुड फेस्टीवल गरेका हुन् ।
त्यस अवसरमा फुड एण्ड डेरी पढिरहेका विद्यार्थीले विभिन्न प्रकारका खाद्यवस्तु उत्पादन गरेको प्रदर्शनी गरिएको छ । विद्यार्थीले स्थानीय खाद्यवस्तुको प्रयोग गरी पुष्टकारी, कोदोको मम, गुदपाक, किमुको जाम, अचार लगायतका सामग्री प्रदर्शन गरिएको छ ।

खाद्य प्राविधिक जुनु भट्टराईले फुड एण्ड डेरी टेक्नोलोजिमा अध्ययन गरिरहेका विद्यार्थीले स्थानीय स्रोत साधनको उपयोग गरी विभिन्न प्रकारका खाद्य सामग्रि उत्पादन गरेको बताउनुभयो । उहाँले विद्यार्थीले उत्पादन गरेका सामग्रिलाई बजारीकरण पनि गरिने बताउनुभयो ।

‘खाद्य स्वच्छता र हाम्रो दायित्व’ विषय अन्तरक्रिया समेत गरिएको छ । कलेजका प्रमुख बसन्त आचार्यको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा नगरप्रमुख खड्काले फुड एण्ड डेरी पढिसकेपछि बेरोजगार बस्नुपर्ने अवस्था नहुने बताउनुभयो । उहाँले पछिल्लो समय विभिन्न खाद्य उद्योग संचालन हुँदै गरेको अवस्थामा मेट्रो कलेजबाट उत्पादित जनशक्तिले उद्योगमा रोजगारी प्राप्त गर्ने बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक राजेश चौधरीले गुणस्तरहिन खाद्यवस्तुले स्वास्थ्यमा गम्भीर असर गर्ने भएकोले स्वच्छ खानेकुराबारे सचेत हुनुपर्ने बताउनुभयो । उहाँले तुलसीपुरमा पनि खाद्य परिक्षणका लागि नगरले आवश्यक पहल गर्र्नुपर्ने बताउनुभयो ।

निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले अधिकांश रोग खान नजानेर लाग्ने भएकोले स्वच्छ खाना खानुपर्ने बताउनुभयो । त्यसका लागि मेट्रोमा सिप सिकेको जनशक्तिले खाद्य स्वच्छता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले स्थानीय खानालाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।
बाहिरका वस्तु ल्याएर बेचेर धनी बन्न नसकिने उहाँको भनाइ छ । स्थानीय खानालाई बजारिकरण गर्नुपर्ने बताउनुभयो । उहाँले फुट एण्ड डेरी मेट्रो कलेजसहित नेपालमा चार वटा कलेजमा मात्रै रहको बताउनुभयो ।
उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले उत्पादनदेखि उपभोक्तासम्म खाद्य स्वच्छता आवश्यक रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण खाद्य प्रशिक्षक रक्षा पौडेलले गर्नुभएको हो ।



