
ईलाम, १६ बैशाख । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको मतगणना आइतबार आज बिहानदेखि हुने भएको छ ।
माङ्सेबुङ, फाकफोक र चुलाचुली गाउँपालिकाको मतपेटिका आउन ढिला हुने भएका कारण आइतबार आजमात्रै मतगणना हुने भएको हो ।
चुलाचुली गाउँपालिका-६ साक्फारास्थित तोरीबारी क्षेत्रको मतपेटिका मोरङको मधुमल्ला हुँदै ल्याउनुपरेकाले समय लाग्ने भएको हो ।
मतगणनाका लागि आज बिहान ७ बजे सर्वदलीय बैठक डाकिएको छ । त्यसपछि इलाम नगरपालिकास्थित सिटी हलको (गौतम बुद्ध सभागृह) मा मत गनिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाका लागि शनिबारै सभागृहको हलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ ।
इलाम-२ मा शनिबार भएको मतदानमा जम्माजम्मी ५८ प्रतिशत मत खसेको थियो । निर्वाचन आयोगका अनुसार इलाम २ मा एक लाख १६ हजार ८८९ मतदाता छन् ।
यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवारले चुनावी प्रतिष्पर्धामा छन् । एमाले सांसद सुवासकुमार नेम्वाङको निधनपछि रिक्त रहेको निर्वाचन क्षेत्रका लागि शनिबार मतदान भएको हो ।