दाङ, ९ बैशाख । दाङमा लागूऔषध नियन्त्रण गर्न समस्या देखिएको एक कार्यक्रमका सहभागीले बताएका छन् । लागूऔषध नियन्त्रण सम्बन्धि जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले लागुऔषध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका हुन् ।
गृह मन्त्रालयका उपसचिव एवं लागूऔषध नियन्त्रण शाखाका प्रमुख महेशकुमार गुरुङले देशभर लागूऔषध मध्ये सबैभन्दा धेरै गाँजा ८०.४ प्रतिशतले प्रयोग गर्ने गरेको बताउनुभयो । त्यसपछि अन्य लागूपदार्थ सेवन गर्ने रहेको उहाँले बताउनुभयो ।
उहाँले सम्भावित गाँजा, अफिम पाइने जोखिमयुक्त जिल्लाहरुलाई प्रभावित, अति प्रभावित गरि विभिन्न समुहमा विभाजन गरि निगरानी गर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले हरेक स्कुल, टोल विकास संस्थामा लागूऔषधका बारेमा सचेतनाका कार्यक्रम गर्नुपर्ने र किट मार्फत लागूऔषध प्रयोगकर्ता पहिचान गर्नुपर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरका उपप्रमुख स्यानी चौधरीले दाङमा लागूऔषध नियन्त्रण गर्न दश वटै स्थानीय तहले सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले दुव्र्यसनीहरु बढ्दै गएको अवस्थामा एक पालिकको प्रयासले मात्र नियन्त्रण गर्न सम्भब नहुने भन्दै सबै पालिकाले योजना बनाएर बजेट छुट्याउनुपर्ने बताउनुभयो ।
यस्तै शान्तीनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले यसअघि नै विद्यालयमा लागूऔषध नियन्त्रण सम्बन्धि कार्यक्रम गरेको बताउनुभयो । बबई गाउँपालिकका अध्यक्ष कुलबहादुर खत्रीले बेरोजगार, अशिक्षा, गरिबी, लहलहै, रहर लगायतका कारणले दुव्र्यसनमा फसेका युवाहरुलाई सहि मार्गमा ल्याउन स्थानीय तह चनाखो हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बह्मकुमारी विश्व विद्यालयकमा बह्माकुमार शिवलाल महतराले लागु औषध दुव्र्यसनीको उपचार, परामर्श निशुल्क गर्न राज्यले नै कदम चाल्नुपर्ने बताउनुभयो ।
यस्तै नयाँ पाइला पुर्नस्थापना केन्द्रका प्रमुख सुरेश भुषालले सुधार केन्द्र खुल्नु भन्दा पनि बन्द गर्नु पर्ने बेला आएको बताउनु भएको छ । भविष्यका खम्बा मानिएका धेरै युवाहरु आज सुधार केन्द्रमा बसेको बताउनुभयो । दुव्र्यसनमा फसेका युवाहरुको निशुल्क उपचार, रोजगारमा बिशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
यसैगरी महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष सुशिला पौडेल, घोराही स्काउटका संगित अधिकारी, सञ्चारकर्मी एस के आकाश लगायतले अब स्थानीय तहले भौतिक विकासमा मात्र नभइ मानविय विकास र संस्कारमा जोड दिनुपर्ने बताउनुभयो ।
नेपाल सरकार गृह मन्त्रालय, लागूऔषध नियन्त्रण शाखाको आयोजनामा कार्यक्रम भएको हो । गृह मन्त्रालयका उपसचिव एवं लागु औषध नियन्त्रण शाखाका प्रमुख महेशकुमार गुरुङको अध्यक्षता तथा लमही नगरपालिकका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।