दाङ, २ वैशाख । दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी राम बहादुर केसीका अनुसार घोराही उपमहानगरपालिका-९ आन्द्राभरैयाका १२ वर्षीय आशिष चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरीको माटोको ढिस्कोले पुरिदा मृत्यु भएको हो ।
आन्द्राभरैयाका ४ बालक घरदेखि करिब ५ सय मिटर टाढा रहेको कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरु माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाइ छ । आइतबार आज दिउँसो खेल्न गएकामध्येबाट तीन खाल्डोमा परेपछि एकजना बालकको उद्धार गरिए पनि अन्य दुईजना गहिरो खाल्डोमा गएर पुरिएका थिए ।
पुरिएकालाई गाउँलेले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारका लागि लगिएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो ।
उनीहरुको शव अहिले शवपरीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । खाल्डो किन खनिएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।