दाङ, २७ चैत । दाङको घोराही उपमहानगरपालिकाले लैंगिक हिंसा नियन्त्रीत घोषणा अभियान संचालन गर्ने भएको छ । उपमनगरपालिकालाई हिंसामूक्त बनाउनका लागि उपमहानगरपालिकाले लैंगिक हिंसा नियन्त्रीत घोषणा अभियान संचालन गर्ने भएको हो ।
नगरलाई हिंसारहित बनाउनका लागि विभिन्न चरणमा सचेतनामूलक कार्यक्रम गर्ने, स्थानीयस्तरमा साझेदार संस्थालाई हिंसा नियन्त्रण सम्बन्धि अभिमूखीकरण गर्ने, व्यवहारिक र नतिजामूखि कार्ययोजना तयारी गरी लागु गरिने भएको छ ।
यस्तै लैंगिक हिंसा नियन्त्रण सम्बन्धि आवश्यक नीति , रणनीति र आचारसंहिता निर्माण गर्ने, नगरपालिका र वडामा तहमा सम्पर्क शाखा वा इकाईको प्रवन्ध गरी सम्पर्क व्यक्ति तोक्ने, सुचक र मापदण्डका आधारमा लैंगिक हिंसा नियन्त्रित घोषणाका लागि वडा छनौट गर्ने तयारी गरिएको नगरप्रमुख नरुलाल चौधरीले बताउनुभयो ।
मंगलबार सरोकारवालासंगको भेटघाटमा प्रमुख चौधरीले हिंसामूक्त समाज निर्माणका लागि घोराही उपमहानगरपालिकाले आवश्यक रणनीति बनाउन थालेको बताउनुभयो । उपमनगरपालिकालाई समृद्धिको मार्गमा लैजानका लागि लैंगिक हिंसा नियन्त्रण जरुरी रहेको उहाँले बताउनुभयो ।
नगर उपप्रमुख हुमा डिसीले शान्त र समुन्नत घोराहीका लागि उपमहानगरपालिकाले लैंगिक हिंसा नियन्त्रीत अभियान शुरु गर्न लागेकोे बताउनुभयो । समाजमा छुवाछुत, दाइजो, बालविवाह जस्ता कुराले पनि हिंसा बढाएको उहाँको भनाई छ ।
घोराही उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक राममणी पाण्डेले समृद्ध समाज निर्माणका लागि हिंसाको अन्त्य हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले लैंगिक हिंसा नियन्त्रणका लागि आवश्यक योजना प्रस्तुत गर्नुभएको हो ।
कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतिकुमारी विश्वकर्माले गर्नुभएको हो ।