२०८३ असोज २६ गते सोमवार

तुलसीपुरमा पनि सडकबत्तीको लाइन काट्न शुरु

तुलसीपुर, २६ चैत । नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रले तुलसीपुरमा सडकबत्तीको लाईन काटेको छ । तुलसीपुर उपमहानगरपालिकाले सडकबत्ती बालेको रकम नबुझाएपछि तीन दिनदेखि लाईन काटिएको हो ।

तुलसीपुर उपहानगरपालिका भित्र रहेका वडा नम्बर ६ मा रहेको दुई वटा मिटरको लाइन काटिएको तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो ।

उपमहानगरपालिका भित्र नगरपालिकाको नाममा भएको तीन वटा ग्राहक रहेका छन् । तीन वटैको गरेर १ करोड ३५ लाख ३८ हजार २११ रुपैंया बक्यौता रकम रहेको प्रमुख गोसलीले बताउनुभयो ।

२०७४ सालपछि तुलसीपुर उपमहानगरपालिकाले नियमित रुपमा सडकबत्तीको महसुल नबुझाएको प्राधिकरणले जनाएको छ । आफु साउनको महिनामा तुलसीपुर वितरण केन्द्रमा हाजिर भएदेखि पालिकाको नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृतसंग भेटेर कुरा राख्दा पनि समस्याको समाधान नभएको प्रमुख गोसलीको भनाई छ ।

यो भन्दा पहिलेपनि पालिकाको सडकबत्तीको लाईन काटिएको थियो । त्यसपछि उपमहानगरले किस्ताबन्दीमा रकम बुझाउने सहमति गरेको थियो । सहमति पछि ५ लाख रकम पालिकाले भुक्तानी गरेको हो । त्यसपछि सहमति अनुसार रकम भुक्तानी नभएको प्राधिकरणको दाबि रहेको छ ।

पालिकालाई रकम भुक्तानीको लागि पटक पटक ताकेता गर्दा पनि सुनुवाई नभएपछि लाईन काट्न बाध्य भएको प्रमुख गोसलीले बताउनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस