२०८१ मङ्सिर २३ गते आइतवार

ड्युटी खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर ठक्कर दिएपछि मृत्यु

बारा, २४ चैत । बारामा ड्युटीमा खटिएका प्रहरी जवानकाे बसकाे ठक्करबाट मृत्यु भएकाे छ । जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा गएराति डियुटीमा खटिएका ट्राफिक प्रहरी जवान  मुनटुन यादवको बसको ठक्करबाट मृत्यु भएको हाे।

काठमाडौंबाट काँकरभिट्टाको लागी हिंडेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान  यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अमलेखगञ्ज चोकमा शुक्रबार राति सवा ११ बजे डियुटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयाे ।

उहाँका अनुसार रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो ।

प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिएको छ भने मृतक यादवको शव वीरगन्जको नारायणी बयोध्या मेडिसिटी अस्पतालमा राखिएको उहाँले बताउनुभयाे। मृतक प्रहरी जवान यादव पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस