दाङ, २२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री चौधरीले प्रदेशसभा बैठकमा राजीनामा घोषणा गर्नुभएको लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले जानकारी दिनुभयो ।
नयाँ गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको समर्थन जुटाएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिनुभएको हो ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चौधरीले राजिनामा दिएपछि नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री पाएको छ । नेकपा एमाले र माओवादीसहितको गठबन्धनबिच पाँचबुँदे सहमति भएको हो । नेकपा (माओवादी केन्द्र)का नेता जोखबहादुर महरालाई मुख्यमन्त्रीमा समर्थन गर्ने सहमति भएको एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले जानकारी दिनुभयो ।
सहमतिमा प्रदेश सरकारबाट गर्ने सबै राजनीतिक नियुक्तिमा सरकारमा सहभागी सबै दलहरुको अपनत्व हुने उल्लेख छ । प्रदेशको पहिचान गर्ने प्रदेश गौरवका योजना साझेदार दलको साझा प्राथमिकताको रुपमा कार्यान्वयन गरिने उल्लेख छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायत सरकारलाई सहयोग गर्न सरकारमा सहभागी दलको नेतृत्वबाट निर्देशक समिति निर्माण गरेर कार्यसम्पादन गर्ने नीति अवलम्बन गर्ने सहमति भएको छ ।