२०८१ फाल्गुन ३ गते शनिवार

लुम्बिनीमा बजेट निर्माणको बेला सरकार जोगाउने चिन्ता


दाङ, १७ चैत । लुम्बिनी प्रदेश सरकार बजेट निर्माणमा सक्रिय हुनुपर्ने बेलामा सरकार जोगाउन व्यस्त देखिएको छ । सङ्घीय सरकारमा राजनीतिक समीकरण परिवर्तन भएर सरकार निर्माण भएसँगै त्यसको असर प्रदेश सरकारमा परेको छ ।

यसका कारण बजेटसँग सम्बन्धित विषयमा छलफल हुनुको साटो सरकार जोगाउने र नयाँ बनाउने दाउमा दलहरू रहेका छन् । सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा त्यसको प्रभाव पर्दा बजेट निर्माणमा अन्योल देखिएको हो । सोही कारण आर्थिक वर्ष २०८१/८२ का लागि बजेट निर्माण कार्य सुरु हुन सकेको छैन ।

आउँदो आवका लागि बजेट निर्माण कार्य सुरु नै नभएको लुम्बिनी प्रदेश सरकारको अर्थ मन्त्रालयले जनाएको छ । आगामी आर्थिक वर्षका लागि बजेटको काम सुरु हुनुपर्ने भए पनि राजनीतिक अन्योलका कारण बजेट निर्माण विषयगत समितिको बैठक सुरु भए पनि गति लिन सकेको छैन । कहिलेबाट बजेट निर्माणको काम सुरु हुन्छ भन्न नसकिने अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा माओवादीका तर्फबाट मन्त्री बनेकालाई मुख्यमन्त्रीले हटाउनुभयो र त्यसपछि अर्थ मन्त्रालय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्हाल्दै आउनुभएको छ । विभागीय मन्त्री नहुँदा बजेट निर्माणको काम अगाडि बढ्न नसकेको हो ।

लुम्बिनी प्रदेश अर्थ मन्त्रालयका उपसचिव सुरेन्द्र पाण्डेले हालसम्म बजेट निर्माणका काम सुरु गर्न विषयगत समितिको बैठक सुरु भए पनि अब बन्ने सरकारको पर्खाइमा रहेको बताउनुभयो । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता ल्याएपछि मुख्यमन्त्री चौधरीले यही चैतको २२ गतेसम्म विश्वासको मत ल्याउने समयसीमा छ ।

प्रतिपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेपछि बजेटको विषयमा छलफल नै नभएको बताउँछन् । नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले सरकारले प्रदेश सभा नै रोकेर राखेका कारण बजेटलगायतको विषयमा छलफल नभएको बताउनुभयो ।

स्वास्थ्यमन्त्री राजु खनालले सरकार जोगाउने काममा व्यस्त रहेकाले बजेटबारे छलफल नै हुन नसकेको बताउनुभयो । मन्त्री खनालले गठबन्धनको एउटा घटक माओवादी केन्द्रले मात्रै समर्थन फिर्ता लिएकाले आफूहरू बहुमतमा रहेको दाबी गर्नुहुन्छ । मन्त्री खनालले मुख्यमन्त्रीले राजीनामा नदिने र विश्वासको मत ल्याउने गरी छलफल भइरहेको पनि बताउनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस