
सल्यान, १७ चैत । बेमौसमी तरकारीको पकेट क्षेत्र सल्यानको कपुरकोटका किसानलाई व्यावसायिक तरकारी खेती तालिम प्रदान गरिएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड कपुरकोटले किसानलाई व्यावसायिक तरकारी खेती तालिम प्रदान गरेको हो ।
तालिममा किसानलाई व्यावसायिक तरकारी खेती व्यवस्थापन, रोग किरा नियन्त्रण ,बिषादी न्युनिकरण लगायतका कुराहरु सिकाइएको संस्थाका प्रवन्धक जीतप्रसाद आचार्यले जानकारी दिनुभयो ।
साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय बिरेन्द्र नगरको आर्थिक सहयोगमा किसानलाई दुई दिनसम्म तालिम संचालन गरिएको उहाँले बताउनुभयो । तालिममा राष्ट्रिय अदुवा बाली अनुसन्धानका डा. घनश्याम भण्डारी, कपुरकोट गाउँपालिका कृषि शाखाका विबेक शर्मा र मुना बुढा लगायतले प्रशिक्षण गर्नुभएको हो ।
संस्थाका उपाध्यक्ष मनिराम रानाको अध्यक्षतामा तालिम उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख प्रंशासकिय अधिकृत भरत कुमार वली, कपुरकोट गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रदिप खड्का लगायतले तालिममा सिकेका कुरालाई व्यवहार तहमा कार्यान्वयन गर्न सके आर्थिक विकास हुने बताउनुभयो । तालिममा ३० जना महिला र १० जना पुरूष गरेर ४० जनाको सहभागिता रहेको थियोे ।