२०८१ मङ्सिर २३ गते आइतवार

रंगभेद तथा जातीय विभेद उन्मुलन दिवसमा तुलसीपुरमा विभिन्न व्यक्ति सम्मानित

तुलसीपुर, ८ चैत । राजनीतिक सहभागिता वृद्धिका लागि हाम्रो पहल भन्ने नाराका साथ ५९ औ अन्तराष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मुलन दिवसका अवसरमा शुभकामना तथा सम्मान कार्यक्रम गरिएको छ । तुलसिपुर उपमहानगरपालिका दलित शसक्तीकरण विधेयक कार्यान्वयन समितिको आयोजनामा सम्पन्न भएको हो ।

सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले कानूनमा विभेद अन्त्य भएपनि व्यवहारिकरूपमा सामाजिक अपराध कायमै रहेको बताउनुभयो ।

उहाँले सामाजिक सांस्कृतिकरूपै कायम रहेको विभेदलाई अन्त्य गर्नका लागि छुवाछुत मुक्त पालिका घोषणा गर्न थालिएको बताउनुभयो । नगरप्रमुख खड्काले दलित ससक्तीकरण ऐन ल्याई कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष एवम् पूर्वाधार विकास समितिका संयोजक वीरबहादुर विश्वकर्माले दलित समुदायबाट राज्यको नेतृत्व तहमा पुगेपनि समाजमा अझै विभेद कायमै रहेको बताउनुभयो । त्यस अवसरमा कपडा सिलाउदै आउनुभएका वडा नम्बर ४ का तेजबहादुर परियार, आरन व्यवसाय गर्दै आउनुभएका वडा नम्बर ७ का ऋषिराज विक, मादल बनाउदै आउनुभएका वडा नम्बर ७ पवित्रा वादी, वडा नम्बर ४का सारङ्गी बाधक शालिकराम गन्धर्व र वडा नम्बर १० का छाला जुत्ता सिलाउदै आउनुभएका च्याउने सार्कीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महिला एवम् सामाजिक शाखा प्रमुख माया श्रेष्ठले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस