२०८१ मङ्सिर २३ गते आइतवार

आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा राजश्वमा गिरावट

दाङ, ४ फागुन । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्ष २०८०/८१ को फागुन महिनासम्म लक्ष्यभन्दा २१ दशमलव ७२ प्रतिशतले कम कर संकलन गरेको छ ।

कार्यालयका अनुसार फागुन महिनासम्म एक अर्ब ६८ करोड ७५ लाख ३१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा एक अर्ब ३२ करोड नौ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

कार्यालयले आयकर, ब्याजकर, मूल्यअभिवृद्धि कर, अन्तःशुल्क, घर बहाल कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा करलगायतका शीर्षकमा कर संकलन गर्दै आएको छ ।

कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत प्रेमबहादुर सुनारले आयकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, घर बहाललगायतका सबै कर लक्ष्यअनुसार संकलन नभएको जानकारी दिनुभयो । उहाँले लक्ष्य नभेटाउने सबैभन्दा धेरै घर बहाल कर रहेको जानकारी दिनुभयो । तीन करोड २० लाख २७ हजार लक्ष्य राखिएकोमा एक करोड ४५ लाख ६२ हजार रुपैयाँ मात्रै संकलन भएको जानकारी दिनुभयो ।

मूल्य अभिवृद्धि करले ६४ दशमलव ३४ प्रतिशत मात्रै लक्ष्य भेटेको छ । ५९ करोड २७ लाख ७६ हजार लक्ष्य राखेकोमा ३८ करोड १३ लाख ८६ हजार मात्रै कर संकलन भएको छ । ब्याजकरको पनि राजश्व संकलन खस्किएको छ । लक्ष्यको ७८ दशमलव ३९ प्रतिशत मात्रै प्रगति हासिल भएको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार तीन करोड ४५ लाख ७० हजार लक्ष्य राखिएकोमा दुई करोड ७१ लाख रुपैयाँमात्रै ब्याजकर संकलन भएको छ । आयकर संकलनमा पनि गिरावट आएको पाइएको छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म लक्ष्यको ९२ दशमलव ९३ प्रतिशत मात्रै आयकर संकलन भएको कर अधिकृत प्रेमबहादुर सुनारले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार ७३ करोड दुई लाख आठ हजार लक्ष्य निर्धारण गरिएकोमा ६७ लाख ८५ हजार पाँच सय ७१ रुपैयाँ मात्रै आयकर संकलन भएको छ ।

नयाँ व्यवसाय नथपिएको र भएका व्यवसाय टाट पल्टिदै जानु, देशमा उत्पादन तथा उपभोग कम हुनु र क्रयशक्तिमा ह्रास आउँदा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको हो ।

प्रकाशित मिति : २०८० चैत्र ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस