२०८१ माघ ६ गते आइतवार

तुलसीपुरमा फेरि अर्को बेथिति : सवारी साधनको दुरुपयोग

तुलसीपुर, २८ फागुन । तुलसीपुर उपमहानगरपालिकामा सरकारी सवारी साधनको दुरुपयोग भएको छ । पालिकाले सरकारी कामकाज सहज बनाउने उद्देश्यले दिएका सवारी साधनहरु किफायती ढंगले प्रयोग नभएको हो ।

कतिपय अवस्थामा अनधिकृत व्यक्तिले प्रयोग गरेको समेत देखिएको छ । तर सम्बन्धित शाखा र विषयगत समिति तैं चुप, मै चुपको अवस्थामा छन् ।

पालिकाको जिन्सी शाखाबाट पाँचवटा स्कुटी र २७ वटा मोटरसाइकल गरी जम्मा ३२ वटा दुई पांग्रे सवारी साधन सरकारी कामकाजका लागि भनेर विभिन्न शाखा प्रमुख तथा वडा सचिवहरुले बुझेका छन् तर साधनहरु सम्बन्धित व्यक्तिले प्रयोग गरेका छन् वा गैरव्यक्तिले प्रयोग गरिरहेका छन् ।  

शाखाबाट वडा सचिवले बुझे मध्येका केही साधनहरु, वडाध्यक्ष तथा शाखा प्रमुखले बुझेका केही साधनहरु अनधिकृत व्यक्तिले प्रयोग गर्दै आएको तुलसीपुर-९ का वडाध्यक्ष तथा पालिकाको लेखा समितिका संयोजक घनश्याम ढकालले बताउनुभयो ।

यो विषयमा मैले अघिल्लो नगरसभा तथा पटक-पटकको कार्यपालिका बैठकमा पनि उठाउँदै आएको तर आवश्यक छानबिन र कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका सबै वडाध्यक्षहरुले इन्धनवापतको मासिक १२ हजार रुपैयाँ बुझ्दै आएका छन् भने वडासचिवले बुझेको मोटरसाइकल पनि चढ्छन् । अघिल्लो कार्यकालमा तुलसीपुर उपमहानगरपालिकाका सबै वडाध्यक्षहरुका लागि १९ वटा मोटरसाइकल खरिद गर्‍यो ।

वडाध्यक्षहरुले सवारी साधन बुझे र इन्धनवापतको रकम पनि लिए । पछि महालेखा परीक्षकको कार्यालयले दोहोरो सुविधा लिएको भन्दै बेरुजु निकाल्यो । त्यसपछि वडाध्यक्षहरुले आफ्नो नाममा लिएको सवारी साधन फिर्ता गरे र अहिले वडा सचिवको नाममा बुझेका सवारी साधन केही वडाध्यक्षहरुले प्रयोग गर्दै आएका छन् । केही कर्मचारीले बुझेका सवारी साधन उनीहरुका घर परिवारका सदस्यले प्रयोग गर्दै आएको लेखा समितिका संयोजक ढकालले जानकारी दिनुभयो ।

जिन्सी शाखा प्रमुख मस्तबहादुर थापाले कुनै पनि वडाध्यक्षले आफ्नो नाममा सवारी साधन नलिएको र कर्मचारीले लगेको साधन दुरुपयोग भएको भए प्रमुख प्रशासकीय अधिकृतमार्फत आउने निर्देनशका आधारमा कारवाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

सवारी साधन प्रयोगको विषयमा सुशासन कायम गर्न नसकिएको र त्यस विषयमा कुरा उठिरहेको तुलसीपुर-८ का अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका सुशासन समितिका संयोजक धर्मराज वलीले स्वीकार्नुभयो । नयाँ युगबोध दैनिकमा एकराज भण्डारीले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस