२०८१ बैशाख ५ गते बुधवार

‘२०८१ पछि कुन पार्टीमा जाने भन्ने बारे सोचौंला, अहिलेलाई राप्रपा त्यागेको घोषणा गर्दछु’ : केसी

तुलसीपुर, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता हंसराज केसीले पार्टी त्यागेको घोषणा गर्नुभएको छ । पार्टीका पूर्व दाङ जिल्ला अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि केसीले आफ्नो सामाजिक संजाल फेसबुकमा आइतबार बिहान विभिन्न १२ बुँदे असहमति राख्दै राप्रपाको साधारण सदस्यसमेत नरहने गरि पार्टी त्यागेको घोषणा गर्नुभएको हो ।

पछिल्ला दिनहरुमा दिन प्रतिदिन नेतृत्वले गरेको स्वइच्छाचारी र पार्टीको महाधिवेशनको म्याण्डेट बिपरित पार्टीलाई एउटा सामान्य क्लब भन्दा तल्लो स्तरमा राखिएको कुरा केसीले उल्लेख गर्नुभएको हो ।

उहाँले पार्टी पुस्तान्तण र रुपान्तरण गर्ने ठूलो अभिलाषा राखेर ल्याएको नयाँ पुस्ता पुरानाहरु भन्दा अझै ९९ गुणा खराब निस्किदा लाचार भएर टुलुटुलु हेरेर बस्ने अन्धभक्त कदापी बन्ने नसकेको उल्लेख गर्नुभएको छ ।

महाधिवेशनको मर्म र भावना विपरित महाधिवेशन प्रतिनिधिले हराएका तीन जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेको कुरा, गण्डकी प्रदेशमा निर्वाचित अध्यक्षलाई केन्द्रीय उपाध्यक्ष मनोनित गरिएको कुरादेखि विधानमा सचिवालय प्रमुख महामन्त्री हुनुपर्नेमा उपाध्यक्षलाई सचिवालय प्रमुख बनाएको सन्दर्भमा केसीले पार्टी अध्यक्षको आलोचना गर्नुभएको छ ।

केन्द्रीय समिति १९९ हुनुपर्नेमा करिव चार सयको संख्यामा आफ्ना गुटका भजन मण्डली मात्रै राखिएको, पार्टीको आर्थिक हिसाब पारदर्सी नभएको, तीन सिटमा मात्रै नेकपा एमाले संग कुन ऐजेन्डाका आधारमा निर्वाचनमा तालमेल गरिएको हो ? भन्ने जस्ता सवाल केसीले उठानुभएको छ ।

माओबादी त्यागेर राप्रपा रोजेका केसीले राप्रपा छोडेपछि अब कुन पार्टी रोज्ने भन्ने बारे कुनै कुरा खुलाउनुभएको छैन् । ‘नयाँ बर्ष २०८१ पछि कुन पार्टीमा जाने भन्ने बारे सोचौंला, त्यसअघि म स्वतन्त्र रुपमा बस्न चाहान्छु ।’ उहाँले सामाजिक संजाल फेसबुकमा लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस