२०८१ मङ्सिर २३ गते आइतवार

बन्दा र काउली खेती गर्दा अब घाटा नहुने

सल्यान । कपुरकोट गाउँपालिकामा व्यवसायिक रुपमा बन्दा र काउली खेती गर्ने किसानले अब घाटा बेहोर्नु नपर्ने भएको छ ।

गाउँपालिकाको पहलमा भूमि ब्यबस्था,कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले बन्दा र काउलीमा न्यूनतम समर्थन मूल्यमा लागु गर्ने भएपछि किसानलाई घाटा नहुने भएको हो ।

कपुरकोट गाउँपालिकामा बन्दा र काउली खेती गर्ने किसानले समर्थन मूल्य पाउनका लागि २०८० माघ २८ गते भित्र कृषि विकास कार्यालय सल्यानमा सुचिकृत हुनुपर्ने छ ।

सुचिकृत हुन चाहने किसानले खेती गर्ने बालीको नाम, खेती गर्ने जग्गाको क्षेत्रफल, बाली लगाउने मिति, उत्पादन हुने अनुमानित मिति, किलोमा हुने अनुमानित उत्पादन सहितको विवरण पेश गर्नुपर्ने कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो ।

न्यूनतम समर्थन मूल्य सहयोग कार्यक्रममा सुचिकृत हुनका लागि खेती विवरण सहितको निवेदन, समूह, सहकारीको हकमा योजना उत्पादन स्पष्ट खुलेको निर्णयको प्रतिलिपि, समूह, सहकारी, नीजि फर्मको हकमा दर्ता प्रमाण पत्रको प्रतिलिपि, कर चुक्ता प्रमाण पत्र वा कर छुट भएमा सो को प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत वलीले बताउनुभयो ।

यो वर्षबाट लागू हुने गरी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले दिएको जानकारी अनुसार बन्दामा प्रति किलो १० रुपैया र काउलीमा प्रति किलो १४ रुपैया न्यूनतम समर्थन मूल्य निर्धारण गर्न लागिएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो ।

न्यूनतम समर्थन मूल्यमा सहयोग गर्ने कार्यक्रम लागु भएपछि निर्धारण गरिएको भन्दा कम मुल्यमा बन्दा र काउली बजारमा बिक्रि हुने अवस्था आएमा लगानी र बजारमा बिक्रि भएको बिचको मूल्य बिचको रकम किसानले पाउने उपाध्यक्ष भण्डारीको भनाई छ ।

तर बन्दा र काउलीमा समर्थन मूल्य पाउनका लागि किसानले एक रोपनी भन्दा बढिमा खेती गरेको हुनुपर्ने कृषि विकास कायालय सल्यानले निकालेको सुचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस