२०८१ बैशाख ५ गते बुधवार

पहिलेको श्रीमानलाई फोन गरेको भन्दै श्रीमतीको हत्या

सल्यान,८ माघ । सल्यानमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । छत्रेश्वरी गाउँपालिका-५ लेखपोखरा ढाउडारा निवासी अन्दाजी २३ बर्षिय मोहन पुनलाई श्रीमतीको कुटपिट गरि हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आरोपितले मंसिर १० गते विहे गर्ने भनेर घरमा ल्याएको बुझिएको छ । सामाजिक परम्परा अनुसार विहे नभएपनि उनीहरु एउटै घरमा बस्दै आएका थिए। उनीहरुका बिचमा झैझगडा भएको र श्रीमानको कुटपिटबाट श्रीमतीको हत्या भएको खुल्न आएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले गत मंसिर १० मा मात्रै मोहनले सिमा कवरलाई विहे गर्न भनेर ल्याएको र उनीहरुले सिन्दुर हालेर विवाह नगरेको तर श्रीमान श्रीमतिको रुपमा बस्दै आएको बताउनुभयो ।

हत्या आरोप लागेका श्रीमानलाई सोमबार दिउँसो घर नजिकैको जंगलमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले आइतबार राती ९ बजेतीर नै महिलाको हत्या भएको अनुमान गरिएको बताउनुभयो ।

ति महिलाको यसअघि अन्यत्रै विवाह भएकाले पहिलेकै श्रीमानलाई फोन गरेको भन्दै मोहनले कुटपिट गरी हत्या गरेको बताइएको छ । प्रहरीले भने श्रीमानलाई पक्राउ गरिएको र घटनाबारे सोधपुछकै क्रममा रहेको जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस