तुलसीपुर, ४ माघ । मानव सेवा आश्रम निर्माणार्थ आगामी माघ १३ देखि २० गते सम्म सञ्चालन हुन लागेको सप्ताह ज्ञान विज्ञान महायज्ञ ब्यबस्थीत गर्न जनप्रतिनिधिहरुको सहयोग र प्रतिबद्धताका लागि बुधबार मानव सेवा आश्रम तुलसीपुरमा बैठक बसेको छ ।
श्रीमद् भावगत ज्ञान विज्ञान महायज्ञ मुल समारोह समितिका संयोजक डिल्लीबहादुर बस्नेतको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्यमा बैठक भएको हो ।
बैठकमा सहभागि तुलसीपुर उपमहानगरपालिका वडा अध्यक्षहरुले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ हलवार स्थीत कालिका मालिका मन्दिरको जमिनमा निर्माण गरिन लागिएको मानविय स्मारक अर्थात मानव सेवा आश्रममा वडाको तर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाएका छन् ।
वडा नम्वर ४ का वडा अध्यक्ष तुलसी थापाले त्यस क्षेत्रमा आँखा अस्पातलका लागि उपलब्ध गराउन नसक्दा अवसर गुमेको बताउनुभयो ।
त्यस कारण वडा नम्वर ४ ले यसलाई अवसरका रुपमा लिदै मानव सेवा आश्रम निर्माणमा कुनै पनि त्रुटि नगर्ने वडा अध्यक्ष थापाको भनाई छ ।
वडा नम्वर ५का बिरेन्द्र शाह, वडा नम्वर ६ का दुजमान भण्डारी,वडा नम्वर ७ का अध्यक्ष रामबहादुर जिसी,वडा नम्वर ९ का घनश्याम ढकाल, वडा नम्वर १२ का सदस्य शेषमणी भण्डारी,वडा नम्वर १५ शंकर खड्का, वडा नम्वर १६ का शिवानन्द डाँगी,वडा नम्वर १७ का प्रतिनिधिले मानव सेवा आश्रमका लागि आबश्यक पर्ने आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नगरप्रमुख टिकाराम खडकाले महायज्ञ सफल पार्न निष्ठापूर्वक लाग्न सबैलाई आह्वान गर्नुभयो । आर्थिक सहयोग मात्र होईन माघ १३ गतेको शोभा यात्रामा टोल विकास संस्थाहरुलाई समेत सहभागि गराउन आग्रह गर्नुहुदै १ लाख ७९ हजार जन संख्या रहेको तुलसीपुर उपमहानगरपालिकामा एक घरबाट १ सय रुपैया आर्थिक सहयोग कम्तीमा गर्न सके पनि धेरै मद्धत पुग्ने बिचार राख्नुभयो ।
महायज्ञ सञ्चालनका लागी प्रमुख वाचकको रुपमा कास्की पोखरा निवासी भागवत भास्कर गुरु कमलनयन गौतम रहनुहुने आश्रमका केन्द्रिय महासचिव सुशीला केसीले जानकारी दिनुभयो । महायज्ञबाट करिव ५ करोड बढि आर्थिक संकलन हुने अपेक्षा गरिएको समितिका सदस्य सचिव बुद्धप्रकास सिंहले जानकारी दिनुभयो ।
महायज्ञलाई भब्यरुपमा सम्पन्न गर्न मुल समारोह समितिले भेटघाट,छलफल,अन्तरक्रिया गर्दै आएको छ ।