
तुलसीपुर, १ माघ । तुलसीपुर बजारको अरनिको मैदान नजिकै रहेको एक गोदाम घरमा गएराति आठ बजेतिर आगलागी भएको छ । तुलसीपुर-५ का व्यवसायी प्रमोद सोनीको प्लास्टिकको गोदाम घरमा आगलागी भएको हो ।
आगो करिब २ घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
आगलागी भएलगत्तै तुलसीपुर उपमहानगरपालिकाको दमकल र स्थानीयको ट्याङरको सहायताले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतले आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । साँघुरो गल्ली भएका दमकल पुग्न समस्या रहेपनि मानविय क्षति हुन पाएन ।
गोदाम नजिकका घरमा रहेकाहरुलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सुरक्षितरुपमा बाहिर ल्याइएको थियो । आगलागीबाट मानवीय क्षति हुन नपाएको र के कति क्षति भयो भने अझै एकिन नभएको डिएसपी पोखरेलले बताउनुभयो ।
आगो नियन्त्रणका लागि घोराही र लमहीबाट दमकल बोलाइएको थियो । तर आगो समयमै नियन्त्रणमा आइसकेकाले फिर्ता पठाएको प्रहरीले जनाएको छ ।