दाङ, २९ पुस ।
लागूऔषध नियन्त्रण गर्न सबैको साथ आवश्यक रहेको सरोकारवालाले बताएका छन् । प्रदेश, स्थानीय तह र सुरक्षा निकायसंगको समन्वय र सहकार्यमा दाङको देउखुरीमा भएको लागूऔषध नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रियामा सहभागी सरोकारवालाले लागुऔषध नियन्त्रण चुनौतिपूणर् बन्दै गएकोले नियन्त्रणका लागि सबैको सहयोग अनिवार्य रहेको बताएका छन् ।
लुम्बिनी प्रदेशका गृह सचिव लालबहादुर कवारीले लागू औषधले समाजमा विभिन्न समस्या निम्त्याएको बताउनुभयो । उहाँले लागूऔषधको लतमा युवा पुस्ता फसेको भन्दै यस्लाई न्यूनीकरण गर्न स्कुलतहबाट सचेता फैलाउनु पर्ने बताउनुभयो ।
लागूपदार्थ सेवन यस्को दूव्र्यसनी रोक्नको लागि अभिभावक सचेत भए मात्र यो विकृती अन्त्य हुने उहाँको भनाइ छ । अहिलेको समयमा अभिभावक, शिक्षक र विद्यार्थी र सरोकारवाला सबैको साझा अभ्यासले लागू औषध नियन्त्रण गर्न सकिने बताउनुभयो ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले लागू औषध सम्बन्धि जनचेतना मूलक सामाग्रीका बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले लागू पदार्थ सेवनले मानिसलाई झुट बोल्न, चोर्न र विस्तारै अपराधीक क्रियाकलापमा संलग्न गराउने र पछि गएर समाजमा यिनैले अपराधिक घटना घटाउने बताउनुभयो । शारीरिक, मानसिक सामाजिक आर्थिक र कानुनी रुपमा असर पुगेको उहाँको भनाइ छ ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले लागुऔषध दुव्र्यसनबाट बालबालिकालाई बचाउनका लागि पालिकाले सचेतनामूलक कार्यक्रम गरिरहेको बताउनुभयो ।
नयाँ पाइला पुर्नस्थापना केन्द्रका कार्यकारी निर्देशक सुरेश भुषालले लागू औषध प्रयोगबाट बचाउन मुख्युतः घर परिवारले ख्याल राख्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय सुधार केन्द्रमा आउने अधिकांश युवाहरु डिप्रेसनमा गएको अवस्थामा मात्र आइपुग्ने गरेको बताउनुभयो ।
गढवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्मरराज शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत बिजय गौतमले गर्नुभएको हो ।